सल्यान, साउन २४ गते । सल्यानको कालीमाटी गाउँपालिका–३, जुगेनास्थित धागेछरा झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।
केही वर्षअघिसम्म स्थानीयबाहेक धेरैको पहुँच र जानकारीमा नरहेको यो प्राकृतिक सम्पदा पछिल्ला वर्षमा प्रचारप्रसार बढेसँगै पर्यटकको रोजाइमा पर्न थालेको हो ।
करिब सय मिटर अग्लो भिरबाट अविरल रूपमा झर्ने धागेछरा झरनाले यहाँ पुग्ने पर्यटकलाई अनुपम प्राकृतिक सौन्दर्यको अनुभूति गराउँदै आएको छ । झरनाको गर्जन, शीतल हावा र वरपरको हरियालीले प्रकृतिप्रेमीलाई विशेष आकर्षित गर्ने गरेको छ । धागेछरा झरनाको प्रमुख विशेषता वर्षभरि निरन्तर पानी बगिरहनु हो । गर्मी, बर्खा हिउँद जुनसुकै मौसममा पनि झरनाको सौन्दर्य उस्तै मनमोहक रहने भएकाले यसलाई जिल्लाका अन्य मौसमी झरनाभन्दा फरक मानिन्छ । जिल्लामै यति अग्लो र बाह्रै महिना पानी बग्ने झरना विरलै रहेको स्थानीयको भनाइ छ ।
प्रचारप्रसारको अभावका कारण लामो समयसम्म ओझेलमा परेको यो झरना पछिल्ला वर्षमा सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत फोटो तथा भिडियो सार्वजनिक हुन थालेपछि व्यापक रूपमा चिनिन थालेको छ । अहिले यहाँ बिदाका दिन परिवार, साथीभाइ तथा प्रकृतिप्रेमीको उल्लेख्य उपस्थिति देखिने गरेको छ ।
स्थानीय मनोज गिरीका अनुसार सामान्य दिनमा पनि दैनिक एक सय जनाभन्दा बढी आन्तरिक पर्यटक झरनाको अवलोकनका लागि पुग्ने गर्छन् । गर्मीयाम र सार्वजनिक बिदाका दिन पर्यटकको
सङ्ख्या केही बढी हुने गर्छ । पर्यटकको आगमनसँगै स्थानीय व्यवसाय र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने स्थानीयको अपेक्षा रहेको छ । धागेछरा झरना सदरमुकाम खलङ्गाबाट कालीमाटीतर्फ जाने सडकखण्डमा पर्छ ।
खलङ्गाबाट करिब ३० मिनेटको सवारी यात्रामा झरनासम्म पुग्न सकिन्छ । झरनासम्म कालोपत्रे सडक पुगेकाले यात्रा सहज छ । दाङको तुलसीपुर तथा सुर्खेतको बोटेचौरबाट पनि करिब दुई घण्टाको सवारी यात्रामा यहाँ पुग्न सकिन्छ ।
सल्यानमा रहेका धार्मिक तथा पर्यटकीय स्थललाई एकापसमा जोड्ने गरी प्रचारप्रसार र पूर्वाधार निर्माणमा पहल भने आवश्यक रहेको छ । पर्यटन व्यवसायी सुकदेव कसेराले सल्यानको प्राकृतिक सौन्दर्य, ग्रामीण जनजीवन, पहाड, झरना र फाँटलाई पर्यटनसँग जोड्न सकिने प्रशस्त सम्भावना रहेको बताउनुभयो । कालीमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले पालिकाभित्र रहेका पर्यटकीय स्थलको संरक्षण, आवश्यक पूर्वाधार विकास, सरसफाइ तथा प्रचारप्रसारका कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरी आवश्यक पूर्वाधार विकास र प्रवर्धनलाई प्राथमिकता दिइने उहाँको भनाइ छ ।
सहज पहुँच, वर्षभरि बग्ने पानी, शान्त वातावरण र प्राकृतिक सौन्दर्यका कारण धागेछरा झरना सल्यानको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको स्थानीयको विश्वास छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्