ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशी एयरलाइन्सको एकाधिकारले हवाई भाडा महँगियो : सोट्टो–नेपाल


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ११ : ५५   बजे

काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटी सीमित हुँदा विदेशी एयरलाइन्सको एकाधिकार बढेको र त्यसको प्रत्यक्ष असर यात्रुले तिर्ने हवाई भाडामा परेको पर्यटन व्यवसायीहरूले बताएका छन्।

सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर (सोट्टो–नेपाल)ले नेपालको अन्तर्राष्ट्रिय उडान सञ्जाल कमजोर हुँदा सीमित विदेशी वायुसेवा कम्पनीले बजारमा प्रभाव बढाएको भन्दै हवाई भाडा अस्वाभाविक रूपमा महँगिएको गुनासो गरेको हो।

संस्थाले अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटी विस्तारका लागि नेपाल वायुसेवा निगमलाई थप जहाज उपलब्ध गराएर अन्तर्राष्ट्रिय उडान बढाउनुपर्नेमागसमेत गरेको छ। निगमलाई थप प्रतिस्पर्धी र प्रभावकारी बनाउन कम्पनी मोडलमा रूपान्तरण गर्नुपर्ने सोट्टो–नेपालको धारणा छ।

सोट्टो–नेपालले आयोजना गरेको एक कार्यक्रममा नेपालको हवाई भाडा, अन्तर्राष्ट्रिय कनेक्टिभिटी र पर्यटन क्षेत्रका चुनौतीबारे आफ्नो धारणा सार्वजनिक गरेको हो।

नेपालको पर्यटन उद्योगको विस्तारमा अन्तर्राष्ट्रिय हवाई सम्पर्कलाई महत्वपूर्ण आधार मानिन्छ। तर प्रत्यक्ष उडानको संख्या सीमित हुँदा नेपाल आउने तथा नेपालबाट बाहिर जाने यात्रु केही निश्चित एयरलाइन्स र ट्रान्जिट हबमा निर्भर हुनुपर्ने अवस्था रहेको पर्यटन व्यवसायीहरूको भनाइ छ।

यसले प्रतिस्पर्धा सीमित पार्नुका साथै हवाई टिकटको मूल्यमा समेत दबाब सिर्जना गरेको सोट्टो–नेपालको दाबी छ।

पर्यटन व्यवसायीका अनुसार हवाई भाडा महँगो हुँदा नेपाल आउने विदेशी पर्यटकको लागत बढ्छ। यसको असर गन्तव्य छनोटदेखि होटल, ट्राभल तथा टुर प्याकेजसम्म पर्न सक्छ।

त्यसैले पर्यटन प्रवर्द्धनका कार्यक्रमसँगै सस्तो, सहज र प्रतिस्पर्धी हवाई कनेक्टिभिटीलाई पनि पर्यटन नीतिको महत्वपूर्ण हिस्सा बनाउनुपर्ने उनीहरूको माग छ।

सोट्टो–नेपालले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई प्रभावकारी बनाउन सरकारले दीर्घकालीन योजना बनाउनुपर्ने बताएको छ।

निगमसँग पर्याप्त जहाज नहुँदा अन्तर्राष्ट्रिय बजारमा नेपालको आफ्नै ध्वजावाहकको उपस्थिति कमजोर बनेको व्यवसायीहरूको भनाइ छ।

थप जहाज व्यवस्थापन, व्यावसायिक सञ्चालन र अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्दै निगमलाई कम्पनी मोडलमा रूपान्तरण गर्नुपर्ने सोट्टो–नेपालको प्रस्ताव छ।

राष्ट्रिय ध्वजावाहकले प्रतिस्पर्धी रूपमा अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सके विदेशी एयरलाइन्समा निर्भरता घट्नुका साथै हवाई भाडामा समेत प्रतिस्पर्धा बढ्न सक्ने व्यवसायीहरूको अपेक्षा छ।

सन् २००८ मा स्थापना भएको सोट्टो–नेपालले पर्यटन व्यवसायीहरूको पेशागत हकहित संरक्षण तथा पर्यटन क्षेत्रमा देखिएका विकृति र विसंगति न्यूनीकरणका लागि काम गर्दै आएको जनाएको छ।

संस्थाले नेपालको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन विभिन्न मुलुकमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोट्टो–नेपालका अनुसार सिंगापुर, मलेसिया, रुस, फिनल्यान्ड, थाइल्यान्ड, भियतनाम, कम्बोडिया तथा भारतका विभिन्न राज्यमा हरेक वर्ष पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

संस्थाले नेपालका पर्यटकीय गन्तव्यको अन्तर्राष्ट्रिय बजारमा प्रचारसँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत काम गर्दै आएको जनाएको छ।

रारा, खप्तडदेखि स्वर्गद्वारीसम्म

आन्तरिक पर्यटनतर्फ सोट्टो–नेपालले रारा, खप्तड, रेसुङ्गा, ऋषिकेश मन्दिर, सुपादेउराली र स्वर्गद्वारीलगायतका गन्तव्यको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ।

स्थानीय तहसँग सहकार्य गर्दै गोकर्णेश्वर–हेलम्बु पदयात्रा तथा बुढानीलकण्ठको दाम्दागाउँमा होमस्टे प्रवर्द्धनजस्ता कार्यक्रमसमेत सञ्चालन गरिएको संस्थाको भनाइ छ।

यस्ता गतिविधिले स्थानीय पर्यटनसँगै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने संस्थाको दाबी छ।

पर्यटनलाई उद्योगको मान्यता दिन माग

सोट्टो–नेपालले पर्यटनलाई देशको अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्न नीतिगत सुधार आवश्यक रहेको बताएको छ।

संस्थाले पर्यटनलाई उद्योगका रूपमा प्रभावकारी मान्यता दिनुपर्ने, श्रम तथा सुरक्षा मापदण्ड बलियो बनाउनुपर्ने र अव्यावहारिक कर प्रणालीलाई व्यवसायमैत्री बनाउनुपर्नेमा जोड दिएको छ।

प्रेस नोटमा भनिएको छ, ‘पर्यटनलाई उद्योगको रूपमा मान्यता दिलाउने, श्रम र सुरक्षा मापदण्ड बलियो बनाउने तथा अव्यावहारिक कर प्रणालीलाई व्यवसायमैत्री बनाउन हामी निरन्तर पैरवी गर्नेछौँ।’

व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि तालिम, गोष्ठी तथा अन्तरक्रियालाई निरन्तरता दिने संस्थाले जनाएको छ।

सोट्टो–नेपालले आफ्नो संस्थागत गतिविधिलाई पर्यटन प्रवर्द्धनमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिएको जनाएको छ। भूकम्प, बाढीपहिरो र आगलागीजस्ता विपद्का समयमा संस्थाका सदस्यमार्फत राहत तथा मानवीय सहयोग गर्दै आएको संस्थाको दाबी छ।

आगामी दिनमा संघीय, प्रदेश तथा स्थानीय सरकार, नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन क्षेत्रलाई समावेशी, प्रतिस्पर्धी र दिगोबनाउने प्रतिबद्धता पनि सोट्टो–नेपालले व्यक्त गरेको छ।

सोट्टो–नेपालका अध्यक्ष मानबहादुर शाहीद्वारा हस्ताक्षरित प्रेस नोटमा पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अझ बलियो बनाउनुपर्नेमा जोड दिइएको छ।

सोट्टो–नेपालको पछिल्लो धारणा तत्कालीन हवाई भाडाको समस्यामा मात्र केन्द्रित छैन। यसको केन्द्रमा नेपालको पर्यटन उद्योगलाई प्रतिस्पर्धी बनाउन आवश्यक हवाई कनेक्टिभिटी, राष्ट्रिय ध्वजावाहकको सुदृढीकरण, कर सुधार, पूर्वाधार, मानव संसाधन र नीतिगत स्थिरताको प्रश्न जोडिएको छ।

नेपालले पर्यटकीय गन्तव्यका रूपमा आफ्नो सम्भावना बढाइरहँदा त्यहाँ पुग्ने हवाई बाटो महँगो र सीमित रह्यो भने पर्यटन बजारमा प्रतिस्पर्धा गर्न कठिन हुने व्यवसायीहरूको निष्कर्ष छ।

त्यसैले अब नेपालको पर्यटन प्रवर्द्धनको अर्को चरण केवल ‘नेपाल घुम्न आउनुस्’ भन्ने अभियानमा सीमित नभई ‘नेपालसम्म कसरी सहज, सस्तो र प्रतिस्पर्धी रूपमा पुग्ने?’ भन्ने प्रश्नको समाधान खोज्नेतर्फ केन्द्रित हुनुपर्ने देखिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल शासकीय अराजकताबाट आक्रान्त छ–गगन थापा

अनिल झा, जनार्दन ढकाल र ममता शर्मा कांग्रेस केन्द्रीय सदस्यमा नियुक्त

सम्बन्धित

पर्यटकको रोजाइमा धागेछरा

काठमाडौंमा मेट्रो रेलको प्रस्ताव, रत्नपार्क–सूर्यविनायक खण्डलाई प्राथमिकता

‘भाले बास्ने ताल’ : पुस्तकका पानाबाट प्रकृतिको काखसम्म, ओझेलमा परेको म्याग्दीको अद्भुत पर्यटकीय सम्पदा

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

‘टिएमजे’ क्षेत्र ढकमक्क बन्यो

‘कोशीमा बिहार उत्सव’ चैत २६ देखि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu