काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोमबार प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश प्रधानमन्त्री शाहलाई हस्तान्तरण गरेका हुन्।
भेटवार्ताका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित तथा सहकार्यका विभिन्न विषयमा छलफल भएको राजदूत श्रीवास्तवले बताएका छन्।
भेटपछि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै श्रीवास्तवले प्रधानमन्त्री शाहसँग नेपाल–भारतबीचको ‘मजबुत एवं बहुआयामिक साझेदारी’लाई थप सुदृढ बनाउने विषयमा सकारात्मक र फलदायी छलफल भएको उल्लेख गरेका छन्।
उनले प्रधानमन्त्री शाहलाई भेटेर भारतीय प्रधानमन्त्री मोदीका तर्फबाट हार्दिक अभिवादन तथा शुभकामना व्यक्त गरेको बताएका छन्।
प्रधानमन्त्री शाहको सचिवालयका अनुसार भेटमा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको थियो।
सम्बन्ध सुदृढीकरणमा जोड
भेटवार्तामा दुई देशबीचको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा जोड दिइएको छ। विकास साझेदारी, पारस्परिक हित र आगामी दिनमा सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।
भारतीय राजदूत श्रीवास्तवले सामाजिक सञ्जालमा प्रधानमन्त्री शाहसँगको भेटको तस्वीर सार्वजनिक गर्दै नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन थप छलफल भएको उल्लेख गरेका छन्।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्