अचेल आगलागी चैते खडेरीमा मात्र होइन, साउने झरीमा पनि हुन थालेको छ। खाना पकाउनदेखि बत्ती बाल्नसम्म बिजुली र पेट्रोलियम पदार्थको प्रयोग बढेसँगै आगलागीको जोखिम पनि बढेको छ। तर जोखिम बढ्दै गए पनि आगलागीजन्य विपत्तिको रोकथाम र नियन्त्रणका लागि आवश्यक तयारी भने पर्याप्त हुन सकेको देखिँदैन। यही कारण साउनको अन्तिम सातासम्म पनि आगलागीका समाचार आइरहेका छन्।
काठमाडौंको नागार्जुनस्थित मञ्जु श्री ट्रेडर्समा शनिबार विद्युतीय तार सर्ट हुँदा झन्डै २२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भयो। सोही दिन जमलस्थित एक घरमा पनि आगलागी भयो। धनकुटामा गुडिरहेको अटोरिक्सामा आगो लाग्दा सवारी पूर्णरूपमा नष्ट भयो भने धादिङमा यात्रुले भरिएको बसमा आगलागी भयो। यी पछिल्लो एक साताको आसपासमा भएका प्रतिनिधि घटना मात्र हुन्।
विद्युतीय प्रणाली प्रमुख जोखिम
प्रारम्भिक घटना विवरणअनुसार यीमध्ये धेरै आगलागीमा विद्युतीय प्रणालीमा आएको खराबी अर्थात् तार सर्ट हुनु प्रमुख कारण देखिएको छ। मानवीय क्षति नभएका घटनामा पनि ठूलो आर्थिक क्षति भएको छ। पर्याप्त सावधानी र पूर्वतयारी अपनाइएको भए यस्ता धेरै घटना रोक्न वा क्षति कम गर्न सकिने अवस्था देखिन्छ।
फरक स्थानमा फरक प्रकृतिका देखिने यी घटनालाई संयोग मात्र भन्न मिल्दैन। यसले हाम्रो विद्युतीय सुरक्षा प्रणाली, नियमित मर्मतसम्भार र जोखिमप्रतिको सचेतनामा रहेको कमजोरी उजागर गर्छ। निजी आवासदेखि सार्वजनिक भवन र साना–ठूला सवारी साधनसम्म आगलागी नियन्त्रणका लागि आवश्यक उपकरण राख्ने विषयमा देखिएको उदासीनता पनि अर्को साझा कमजोरी हो।
रोकथाममै जोड आवश्यक
आगलागी नियन्त्रणभन्दा त्यसको रोकथामलाई प्राथमिकता दिनुपर्ने देखिन्छ। सम्बन्धित नियामक निकायले बस्ती तथा आवासीय अपार्टमेन्टमा विद्युतीय तारको नियमित मर्मतसम्भार भए–नभएको र अग्निनियन्त्रक उपकरण (फायर एक्स्टिङ्गुसर) जडान गरिएको छ कि छैन भन्ने विषयमा नियमित निरीक्षण गर्नुपर्छ।
विशेषगरी तराई र काठमाडौं उपत्यकाका घना बस्ती भएका सहरमा दमकलका लागि पानी आपूर्ति गर्न सकिने हाइड्रेन्ट जडानतर्फ स्थानीय तहले ध्यान दिन आवश्यक छ। भवन संहितामा अग्निसुरक्षासम्बन्धी व्यवस्था भए पनि प्रभावकारी निरीक्षण र अनुगमनको अभावमा सार्वजनिक भवनमा राखिएका अग्निनियन्त्रण सामग्रीसमेत प्रयोग गर्न नमिल्ने अवस्थामा पुग्ने गरेका छन्। निजी आवासमा त यस्तो उपकरण राख्ने संस्कार नै विकास हुन सकेको छैन।
पूर्वतयारीको खर्चभन्दा क्षति महँगो
आगलागीबाट हुने क्षतिको तुलनामा पूर्वतयारीमा लाग्ने खर्च निकै कम हुन्छ। राज्यका लागि पनि विपत्तिपछि उद्धार, राहत र पुनःस्थापनामा हुने खर्चभन्दा पूर्वतयारीमा गरिने लगानी धेरै सस्तो पर्न सक्छ।
त्यसैले आर्थिक रूपमा कमजोर परिवारलाई पालिकाले अनुदान दिएर भए पनि घरमा अग्निनियन्त्रक उपकरण राख्न प्रोत्साहित गर्नुपर्छ। आर्थिक रूपमा सक्षम परिवार तथा व्यवसायिक प्रतिष्ठानमा भने फायर एक्स्टिङ्गुसरलगायत आवश्यक सुरक्षा उपकरण राख्न अनिवार्य व्यवस्था गर्न सकिन्छ।
पुराना वा जीर्ण तार, क्षमताभन्दा बढी विद्युत् भार, गुणस्तरहीन प्लग तथा स्विच, अव्यवस्थित वायरिङ र असुरक्षित जडानले आगलागीको जोखिम बढाउँछ। त्यसैले विद्युतीय तार, प्लग, स्विचबोर्ड, सर्किट ब्रेकरलगायत उपकरणको समय–समयमा परीक्षण र मर्मत गर्ने संस्कार विकास गर्नुपर्छ।
सबै पक्षबीच समन्वय
आगलागी नियन्त्रणमा नागरिकको भूमिका महत्वपूर्ण भए पनि नागरिकलाई मात्र जिम्मेवार बनाएर समस्या समाधान हुँदैन। स्थानीय तह, विद्युत्सम्बन्धी नियामक निकाय, यातायात कार्यालय, दमकल सेवा र सुरक्षा निकायले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्नुपर्छ।
सार्वजनिक तथा व्यापारिक भवनको विद्युतीय सुरक्षा निरीक्षण, जोखिमयुक्त वायरिङको पहिचान, जनचेतनामूलक कार्यक्रम र दमकल सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राख्न आवश्यक छ।
निजी भवनलगायत आगलागीको जोखिम भएका संरचनाको नियमित निरीक्षण, अनुगमन र नियमनका लागि राज्यले लगानी गर्नुपर्छ। यस्तो लगानी विपत्तिपछिको उद्धार तथा पुनःस्थापनामा हुने खर्चभन्दा कम हुन सक्छ। आवश्यक खर्च सम्बन्धित संस्था, व्यक्ति वा परिवारबाटै उठाउने तथा आर्थिक रूपमा कमजोरलाई राज्यले अनुदान दिने व्यवस्था पनि गर्न सकिन्छ।
आगलागी नियन्त्रणका लागि प्रविधि र उपकरण मात्र पर्याप्त हुँदैनन्। प्रभावकारी नीति, नियमित अनुगमन, नागरिक सचेतना र जिम्मेवार राज्य संयन्त्र पनि उत्तिकै आवश्यक छन्। त्यसैले आगो लागेपछि उद्धार र क्षतिको हिसाब गर्नेभन्दा आगो लाग्नै नदिने पूर्वतयारीमा राज्यको ध्यान केन्द्रित हुनुपर्छ। यसका लागि आवश्यक छ—राज्य सञ्चालकको इच्छाशक्ति र दूरदृष्टि।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्