काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग आगामी ६ महिनामा सरकारले गर्नुपर्ने पाँच महत्वपूर्ण निर्णयबारे सुझाव मागेका छन्।
सोमबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा मन्त्री वाग्लेले नेपालमा व्यवसाय विस्तार गर्दा निजी क्षेत्रले भोगिरहेका मुख्य समस्या र अवरोधबारे स्पष्ट धारणा दिन आग्रह गरे। सरकारले यसअघि गरेका सुधार कति प्रभावकारी भए भन्नेबारे पनि उनले निजी क्षेत्रसँग प्रतिक्रिया मागेका थिए।
मन्त्री वाग्लेले कर प्रशासन, नियमन, जग्गा, ऊर्जा, श्रम, पूर्वाधार, वित्त, निर्यात, कानुनी व्यवस्था तथा सरकारी प्रक्रियामध्ये तत्काल सुधार आवश्यक रहेका क्षेत्र पहिचान गर्न आग्रह गरे। उनले नेपालमा उद्योग विस्तार, नयाँ उत्पादन तथा प्रविधि भित्र्याउन बहुराष्ट्रिय कम्पनीलाई प्रोत्साहित गर्न सरकार तयार रहेको बताए।
वैधानिक लगानी, सम्पत्ति र नाफाको सुरक्षा सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै वाग्लेले निजी क्षेत्रलाई राष्ट्र निर्माणको साझेदारका रूपमा हेर्ने सरकारको नीति रहेको बताए।
उनले नेपालमा आर्थिक रूपान्तरण सरकार वा कुनै एक मन्त्रालयको प्रयासबाट मात्र सम्भव नहुने भन्दै सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। आफू निजी क्षेत्रलाई सरकारको धारणा सुनाउनभन्दा पनि नेपालमा लगानी गरिरहेका कम्पनीका अनुभव र समस्या सुन्न छलफलमा बसेको उनको भनाइ थियो।
मन्त्री वाग्लेले लगानीकर्ताले आफ्नो सम्पत्ति सुरक्षित रहेको, नियम स्थिर र कर प्रणाली पूर्वानुमानयोग्य रहेको अनुभूति गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। सरकारले निजी क्षेत्रलाई केवल करको स्रोतका रूपमा नभई राष्ट्र निर्माणको साझेदारका रूपमा हेरेको पनि उनले बताए।
चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले उत्पादन, लगानी, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउने नीति लिएको उल्लेख गर्दै वाग्लेले निजी क्षेत्रलाई थप लगानी गर्न आग्रह गरे। सरकार आवश्यक सहजीकरण गर्न तयार रहेको उनले बताए।
छलफलमा उठेका विषयलाई सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय गरी समाधानको प्रक्रिया अघि बढाउने अर्थमन्त्रीले जानकारी दिए। त्यसको अनुगमन अर्थ मन्त्रालयको ‘रेस्पोन्स डेस्क’मार्फत गरिनेछ। निजी क्षेत्रसँगको संवादलाई निरन्तरता दिँदै समस्या समाधान नभएसम्म छलफल जारी राख्ने उनको भनाइ छ।
मन्त्री वाग्लेले नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीलाई ठूला करदाता, रोजगारदाता, लगानीकर्ता तथा आर्थिक रूपान्तरणका महत्वपूर्ण साझेदारका रूपमा चित्रण गरे।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्