काठमाडौं । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र मधेसी आयोगका पदाधिकारीबीच दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने विषयमा छलफल भएको छ।
मन्त्रालयमा सोमबार भएको छलफलमा मधेसबाट दाइजो प्रथाविरुद्ध राष्ट्रिय अभियान सुरु गरी क्रमशः देशभर विस्तार गर्ने विषयमा विचारविमर्श भएको हो।
छलफलमा दाइजो प्रथाविरुद्धको अभियानलाई प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक रणनीति, सरोकारवाला निकायबीचको सहकार्य तथा जनचेतना विस्तारका उपायबारे सुझाव आदानप्रदान भएको थियो।
मन्त्री बादीले दाइजो प्रथा सामाजिक विकृतिका रूपमा अझै कायम रहेकाले यसको अन्त्य कानुनी प्रयासबाट मात्र सम्भव नहुने बताइन्। उनले ‘दाइजोमुक्त नेपाल’ निर्माण सरकारको मात्र जिम्मेवारी नभई सम्पूर्ण समाजको साझा राष्ट्रिय अभियान बन्नुपर्नेमा जोड दिइन्।
उनका अनुसार दाइजोविरुद्धको चेतना परिवार र समुदायको तहबाटै विस्तार गर्न आवश्यक छ। यसका लागि युवा, महिला, स्थानीय तह, शैक्षिक संस्था, सामाजिक तथा धार्मिक अगुवा, नागरिक समाज र सञ्चारमाध्यमलाई अभियानमा सक्रिय रूपमा जोड्नुपर्ने उनले बताइन्।
मधेसबाट अभियानको सुरुवात गर्ने प्रस्ताव
दाइजो प्रथाको सामाजिक प्रभाव बढी देखिएका मधेसका समुदायबाट अभियान सुरु गरी त्यसलाई क्रमशः देशका अन्य भूभागमा विस्तार गर्ने प्रस्ताव छलफलमा अघि बढाइएको छ।
अभियानलाई केवल सरकारी कार्यक्रमका रूपमा सीमित नगरी स्थानीय समुदायको सहभागिता र नेतृत्वमा सञ्चालन गर्नुपर्नेमा समेत जोड दिइएको छ।
मन्त्रालय र मधेसी आयोगबीचको सहकार्यमा सञ्चालन हुने अभियानअन्तर्गत दाइजो प्रथाका सामाजिक, आर्थिक तथा लैंगिक प्रभावबारे जनचेतना अभिवृद्धि गर्ने, दाइजो नलिने–नदिने प्रतिबद्धता विकास गर्ने तथा स्थानीयस्तरमा अभियान सञ्चालन गर्ने विषयमा थप योजना बनाइने बताइएको छ।
मन्त्री बादीले दाइजो प्रथाको अन्त्यका लागि सामाजिक सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको भन्दै अभियानलाई निरन्तर र देशव्यापी बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताइन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्