काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्रका नेताहरूको आलोचना गरेर उनीहरूलाई थप महत्त्व नदिन कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।
सोमबार काठमाडौँमा नेपाली कांग्रेस सिन्धु–काठमाडौँले आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले पार्टी सभापति गगन थापाप्रति लक्षित गर्दै गाली गर्नुभन्दा मौन बस्नु नै उचित हुने बताएका हुन्।
अरूलाई कुरूप देखाएर आफू सुन्दर बन्न नसकिने तर्क गर्दै उनले नेपाली कांग्रेस आफैँमा गौरवशाली इतिहास बोकेको पार्टी भएको बताए।
‘हामी गगन थापालाई किन गाली गर्छौँ? गाली गर्नै पर्दैन। गाली गर्यो भने झन् उसलाई महत्त्व दिएको हुन्छ। त्यसैले किन तपाईंहरू गाली गर्नुहुन्छ? केही भन्दै नभन्नुस्। त्यो नै सबैभन्दा ठूलो अपमान हो,’ उनले भने।
युवालाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड
नेपाली कांग्रेसलाई ‘बुढाहरूको पार्टी’ भन्ने गरिएको आरोपप्रति टिप्पणी गर्दै कोइरालाले कांग्रेसको भविष्य युवाहरूको हातमा रहेको बताए। युवालाई नेतृत्वका लागि तयार पार्नुपर्नेमा जोड दिँदै उनले पार्टीलाई नयाँ पुस्तासँग जोडेर अघि बढाउनुपर्ने धारणा राखे।
कांग्रेसको ऐतिहासिक योगदान स्मरण गर्दै उनले बीपी कोइराला र कृष्णप्रसाद कोइरालालगायत नेताहरूको संघर्षका कारण नेपाली जनताले अधिकार प्राप्त गरेको बताए।
पार्टी एकता आफ्नो प्राथमिकता
पार्टीले आफूलाई कठिन परिस्थितिमा संयोजकको जिम्मेवारी दिएको उल्लेख गर्दै कोइरालाले सबै पक्षलाई समेटेर कांग्रेसलाई एकताबद्ध बनाउनु आफ्नो मुख्य प्राथमिकता रहेको स्पष्ट पारे।
‘आफ्नो जीवनमा आज मलाई अत्यन्त अप्ठ्यारो ठाउँमा उभाइदिनुभएको छ नेताहरूले, संयोजक बनाएर। म एक्लो मान्छे हो। तर म के चाहन्छु भने सबै समावेश गरेर। त्यसैले पार्टीलाई एक गर्ने मेरो प्राथमिकता हो,’ उनले भने।
उनले कांग्रेसको इतिहास र सिद्धान्तलाई गहिराइपूर्वक बुझेर पार्टीलाई अघि बढाउन नेता तथा कार्यकर्तालाई आग्रह गरे।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्