काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाको डार्बिनमा आयोजना हुने टप एन्ड टी–२० क्रिकेट सिरिजका लागि नेपाली ‘ए’ टोली घोषणा गरेको छ।
आगामी अगस्ट २१ देखि ३० तारिखसम्म हुने प्रतियोगिताका लागि क्यानले अनिलकुमार शाहको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
टोलीमा मयन यादव, दिनेश अधिकारी, कुशल भुर्तेल, प्रतीक सर्राफ, रिजन ढकाल, कुशल मल्ल, लोकेश बम, रशिद खान, नारायण जोशी, आकाश चन्द, साहिल आलम, विपिन खत्री, हेमन्त खत्री र अर्जुन ढकाल रहेका छन्।
६ खेल खेल्ने नेपाल
टप एन्ड टी–२० सिरिजको लिग चरणमा नेपालले ६ खेल खेल्नेछ।
नेपालले प्रतियोगिताको पहिलो खेल अगस्ट २१ मा एनटी स्ट्राइकसँग खेल्नेछ।
त्यसपछि नेपालको खेलतालिका यस्तो छ :
- अगस्ट २२ — बंगलादेश हाई–परफर्मेन्स टोली
- अगस्ट २४ — होबार्ट हरिकेन्स एकेडेमी
- अगस्ट २६ — एसीटी कोमेट्स
- अगस्ट २७ — किङ्समेन
- अगस्ट २९ — भिक्टोरिया
नेपालले यसअघि पनि टप एन्ड टी–२० प्रतियोगितामा सहभागिता जनाएको थियो।
त्रिकोणात्मक सिरिजमा पनि यही टोली
टप एन्ड टी–२० सिरिज सकिएलगत्तै नेपाली ‘ए’ टोलीले अस्ट्रेलियामै आयोजना हुने त्रिकोणात्मक टी–२० सिरिजमा पनि सहभागिता जनाउनेछ।
उक्त सिरिजमा नेपालले साउथ अस्ट्रेलिया, टास्मेनिया र एनटी स्ट्राइकर्ससँग प्रतिस्पर्धा गर्नेछ।
क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा टप एन्ड टी–२० र त्यसपछि हुने त्रिकोणात्मक सिरिजका लागि यही टोलीले सहभागिता जनाउने उल्लेख छ।
अस्ट्रेलियाको चुनौतीपूर्ण परिस्थितिमा लगातार दुई प्रतियोगिता खेल्ने अवसरले नेपाली खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अनुभव दिलाउनुका साथै राष्ट्रिय टोलीका लागि खेलाडी पहिचान र तयारीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्