काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको कप्तानीबाट बिदा भएका रोहित पौडेललाई धन्यवाद दिँदै उनको नेतृत्वको प्रशंसा गरेको छ ।
क्यानले सामाजिक सञ्जालमार्फत रोहितको नेतृत्वमा नेपाली क्रिकेटले हासिल गरेका उपलब्धि स्मरणीय रहने जनाएको छ । नेपाली क्रिकेटको विकास, टोलीको प्रदर्शन सुधार तथा समर्थकको अपेक्षा पूरा गर्न रोहितले महत्वपूर्ण योगदान दिएको क्यानको भनाइ छ ।
क्यानले रोहितलाई धन्यवाद दिँदै राष्ट्रको आशालाई अघि बढाउन जोश, समर्पण र दृढ संकल्पका साथ नेपाली क्रिकेटको नेतृत्व गरेको भन्दै प्रशंसा गरेको छ । टोली, देश र खेलकुदप्रतिको उनको प्रतिबद्धता सधैँ प्रेरणादायी रहने क्यानले जनाएको छ ।
यसअघि सोमबार क्यानले रोहितको स्थानमा लेगस्पिनर सन्दीप लामिछानेलाई नेपाली एकदिवसीय टोलीको नयाँ कप्तान नियुक्त गरेको थियो । नेदरल्यान्ड्समा सम्पन्न आईसीसी विश्वकप लिग–२ मा नेपाली टोलीको कमजोर प्रदर्शनपछि नेतृत्व परिवर्तन गरिएको हो ।
अब सन्दीपको नेतृत्वमा नेपालले अगस्ट ३० देखि मलेसियामा हुने एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्नेछ । सन्दीप चार वर्षपछि नेपाली राष्ट्रिय टोलीको कप्तानीमा फर्किएका हुन् । यसअघि २०७९ सालमा नाबालिग बलात्कारको आरोपपछि उनी कप्तानबाट हटाइएका थिए र राष्ट्रिय टोलीबाट निलम्बित भएका थिए । अदालतबाट सफाइ पाएपछि उनी राष्ट्रिय टोलीमा फर्किएका थिए ।
प्रिमियर कपका लागि नेपाली टोली
एसीसी प्रिमियर कपका लागि क्यानले सन्दीप लामिछानेको नेतृत्वमा टोली घोषणा गरिसकेको छ । टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डेय, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी रहेका छन् ।
एसीसी प्रिमियर कप मलेसियामा भदौ १४ देखि २७ गतेसम्म सञ्चालन हुनेछ । नयाँ कप्तान सन्दीपको नेतृत्वमा नेपालले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्