बेलफास्ट । आयरल्यान्डलाई तेस्रो एकदिवसीय खेलमा ३ विकेटले हराउँदै अफगानिस्तान २०२७ को एकदिवसीय विश्वकपका लागि छनोट भएको छ।
सोमबार बेलफास्टमा भएको खेलमा टस जितेर पहिले बलिङ गरेको अफगानिस्तानले आयरल्यान्डलाई ४६.३ ओभरमा २०६ रनमा अलआउट गरेको थियो। जवाफी ब्याटिङमा अफगानिस्तानले ४४.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
अफगानिस्तानको जितमा राशिद खानले महत्त्वपूर्ण योगदान दिए। उनले अविजित ३७ रन बनाउनुका साथै बलिङमा ३ विकेट लिए। आयरल्यान्डविरुद्ध अफगानिस्तानको यो लगातार दोस्रो जित हो।
शीर्ष आठमा स्थान सुरक्षित
आयरल्यान्डविरुद्धको जितसँगै अफगानिस्तानले सन् २०२६ सेप्टेम्बर ३० सम्म एकदिवसीय वरीयताको शीर्ष आठमा रहने सुनिश्चित गरेको छ। २०२७ को विश्वकपका लागि वरीयताका आधारमा सिधा छनोट हुने टोली निर्धारण गर्ने अन्तिम मिति यही हो।
अफगानिस्तान हाल एकदिवसीय वरीयतामा आठौँ स्थानमा छ।
वेस्ट इन्डिजलाई धक्का
अफगानिस्तान सिधै विश्वकपमा छनोट भएपछि वेस्ट इन्डिजले भने छनोट प्रतियोगिता खेल्नुपर्ने भएको छ।
वेस्ट इन्डिजले भारतसँग दुई एकदिवसीय खेल खेल्ने तालिका भए पनि दुवै खेल जित्दा पनि शीर्ष आठमा पुग्न नसक्ने अवस्था छ। वेस्ट इन्डिज हाल वरीयताको १०औँ स्थानमा छ।
१४ टोलीले खेल्ने
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले २०२७ को पुरुष एकदिवसीय विश्वकपमा १४ टोलीले प्रतिस्पर्धा गर्ने जनाएको छ। यसअघिको २०२३ को विश्वकपमा १० टोली सहभागी भएका थिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्