सिन्धुलीमाढी । सिन्धुलीका विभिन्न प्राकृतिक झरना पछिल्लो समय आन्तरिक पर्यटकका आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएका छन्। गर्मी छल्न तथा प्राकृतिक सौन्दर्यको आनन्द लिन चाहने पर्यटक झरनातर्फ आकर्षित हुन थालेपछि जिल्लाका ग्रामीण क्षेत्रमा रहेका झरनामा चहलपहल बढेको हो।
कमलामाई नगरपालिका, दुधौली नगरपालिका र घ्याङ्लेख गाउँपालिका क्षेत्रमा रहेका झरनामा विशेषगरी सार्वजनिक बिदाका दिन पर्यटकको भीड लाग्ने गरेको छ। कमलामाई नगरपालिका–२ को सरस्वती झरना, वडा नं. ४ को काँसीराम झरना, घ्याङ्लेख गाउँपालिका–१ को सेमथान झरना, वडा नं. ४ को तिफ्रुङ झरना तथा दुधौली नगरपालिका–१३ अरुणठाकुरको सेतीदेवी झरना पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेका छन्।
कमलामाई नगरपालिका–२ का वडाध्यक्ष इन्द्रबहादुर वाइबाका अनुसार सरस्वती झरनामा सामान्य दिनमै दैनिक करिब दुई सय पर्यटक पुग्ने गरेका छन्। सार्वजनिक बिदाका दिन भने पर्यटकको संख्या एक हजारभन्दा बढी पुग्ने गरेको उनले बताए।
झरनासम्म पुग्ने कच्ची सडक निर्माणका लागि नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा १० लाख रुपैयाँ खर्च गरेको छ। सडक बने पनि झरनालाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थप पूर्वाधार आवश्यक रहेको वडाध्यक्ष वाइबाले बताए।
“झरनासम्म जान–आउन सहज होस् भनेर सिँढी, रेलिङलगायतका पूर्वाधार निर्माण गर्ने योजना छ,” उनले भने, “सरस्वती झरनाको प्रवर्धनलाई नगरपालिकाले यस वर्षको नीति तथा कार्यक्रममा प्राथमिकता दिएको छ।”
सिन्धुलीका झरनामा जिल्लाभित्रका पर्यटकसँगै धनुषा, महोत्तरी, सिरहा, सप्तरी र सर्लाहीलगायत तराईका जिल्लाबाट समेत पर्यटक पुग्ने गरेका छन्। झरनाको चिसो पानी, प्राकृतिक दृश्य र आसपासको वातावरणमा रमाउने तथा तस्बिर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने क्रम बढेपछि पर्यटकको आकर्षण थप बढेको स्थानीयवासी बताउँछन्।
जिल्ला सदरमुकाम सिन्धुलीमाढी नजिकै कमलामाई नगरपालिका–४ मा रहेको काँसीराम झरनामा पनि सार्वजनिक बिदाका दिन पर्यटकको चहलपहल बढ्ने गरेको स्थानीय हरि रायमाझीले बताए। उनका अनुसार जिल्लाका धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थललाई एकआपसमा जोडेर पूर्वाधार निर्माण तथा प्रचारप्रसार गर्न सके सिन्धुलीको पर्यटन विकासमा थप टेवा पुग्न सक्छ।
त्यस्तै, दुधौली नगरपालिका–१३ अरुणठाकुरस्थित सेतीदेवी झरनामा पनि पछिल्लो समय आन्तरिक पर्यटकको आगमन बढेको छ। दुधौली नगरपालिकाका प्रवक्ता तथा वडा नं. १३ का वडाध्यक्ष दीपक खड्काका अनुसार झरनासम्म पर्यटकको पहुँच सहज बनाउन नगरपालिकाले पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ।
“पहिले मानिसहरू झरनासम्म पुग्नै सक्दैनथे, बाटो असाध्यै भिरालो थियो,” उनले भने, “गत आर्थिक वर्षमा स्वरोजगार कार्यक्रममार्फत गोरेटो बाटो निर्माण गरेर आवतजावत सहज बनाएका छौँ।”
झरनाबाटै निर्माण गरिएको कुलोको बाटोलाई ढलान तथा रेलिङ लगाएर व्यवस्थित गरिएको उनले बताए। पूर्वाधारमा सुधार हुन थालेपछि सेतीदेवी झरना अवलोकन गर्न स्थानीयसँगै तराईका विभिन्न जिल्लाबाट पर्यटक आउन थालेका छन्।
स्थानीयवासीका अनुसार सिन्धुलीका ग्रामीण क्षेत्रमा रहेका झरनालाई प्राकृतिक सौन्दर्यसँगै ग्रामीण जीवनशैली, स्थानीय संस्कृति र पहाडी भूगोलसँग जोडेर पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ।
त्यसका लागि सडक तथा पदमार्ग, सिँढी, रेलिङ, विश्रामस्थल, शौचालय र खानेपानीजस्ता आधारभूत पूर्वाधार निर्माणसँगै योजनाबद्ध प्रचारप्रसार आवश्यक देखिएको छ। स्थानीय तहले यी पक्षमा ध्यान दिन सके सिन्धुलीका झरना स्थानीय पर्यटनसँगै जिल्लाको आर्थिक गतिविधि र रोजगारी सिर्जनाका महत्वपूर्ण आधार बन्न सक्ने देखिन्छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्