स्याङ्जा । एकीकृत सेवा कार्यालय स्याङ्जाले जिल्लाका उद्योग तथा व्यवसायीका संघसंस्थाका प्रतिनिधिसँग अन्तक्र्रिया गरेको छ। कार्यालयको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउँदै उद्योग, व्यापार तथा पर्यटन क्षेत्रको विकासमा सहकार्य गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा उद्योग तथा व्यवसाय दर्ता, नवीकरण, खारेजी र नामसारीलगायतका प्रक्रिया सरल बनाएर सेवा प्रवाह गर्ने विषयमा छलफल भएको थियो। सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने तथा सीपमूलक तालिम र अनुदान कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा सहभागीले जोड दिएका थिए।
व्यवसायीले उत्पादनको गुणस्तर सुधार गर्दै स्याङ्जाको व्यावसायिक क्षेत्रलाई थप गतिशील बनाउनुपर्ने बताएका थिए। राज्यले व्यवसायीमैत्री वातावरण बनाउनुपर्ने र निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको उनीहरूको भनाइ थियो।
कार्यक्रममा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, चेम्बर अफ कमर्स स्याङ्जाका अध्यक्ष श्रीबहादुर गुरुङ, उपभोक्ता हित संरक्षण मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्रप्रसाद मरासिनी, गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम श्रेष्ठ, होटल व्यवसायी संघ स्याङ्जाका महासचिव ओमप्रकाश पौडेल, वालिङ उद्योग वाणिज्य संघका महासचिव विमल अर्याल र कार्यकारी सचिव बाबुराम रेग्मीले धारणा राखेका थिए।
ब्युटी पार्लर एसोसिएसन स्याङ्जाकी उपाध्यक्ष माया गोर्खाली र महिला उद्यमी संघ स्याङ्जाकी अध्यक्ष चन्द्रकला रानाले पनि व्यवसायीका समस्या र आवश्यकताबारे धारणा राखेका थिए।
गण्डकी प्रदेश सरकारको आर्थिक ऐनले विभिन्न समयमा दर्ता भएका तर हालसम्म नवीकरण नभएका उद्योग, वाणिज्य तथा पर्यटन व्यवसायलाई २०८४ वैशाख मसान्तसम्म नवीकरण वा खारेजीका लागि निवेदन दिएमा लाग्ने जरिवाना छुट दिने व्यवस्था गरेकोमा व्यवसायीले सरकारलाई धन्यवाद दिएका थिए।
एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले यस्ता कार्यक्रमले सरकार र निजी क्षेत्रबीचको सम्बन्ध सुदृढ गर्नुका साथै कार्यालयको सेवा प्रवाह सुधार गर्न सहयोग पुग्ने बताए।
कोष तथा लेखा नियन्त्रक कार्यालय स्याङ्जाका लेखा अधिकृत ईश्वर आचार्यले करदाता शिक्षा सबै व्यवसायीसम्म पुर्याउनुपर्नेमा जोड दिए।
पौडेलले जिल्लाका ११ वटै स्थानीय तहका उद्योगी तथा व्यवसायीसँग गरिएको अन्तक्र्रियाबाट प्राप्त सुझाव कार्यान्वयनका लागि पहल गर्ने बताए। कार्यक्रममा एकीकृत सेवा कार्यालयका अधिकृत खुमलाल ढकालले पनि धारणा राखेका थिए।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्