सर्लाही । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सर्लाहीको हरिवनमा बुधबार बिहान लागूऔषधविरुद्ध युवा दौड प्रतियोगिता आयोजना गरिएको छ। सर्लाही युथ फोरमको आयोजनामा भएको प्रतियोगितामा एक सयभन्दा बढी युवा सहभागी भएका छन्।
‘लागूऔषध विरुद्ध हाम्रो दौड’ नारासहित आयोजना गरिएको दौड नयाँरोडदेखि हरिवनसम्म सञ्चालन गरिएको थियो। प्रतियोगितामार्फत युवामाझ लागूऔषधविरुद्ध जनचेतना फैलाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
सर्लाहीमा पछिल्लो समय लागूऔषध सेवनको समस्या बढ्दै गएको भन्दै त्यसविरुद्ध जनचेतना जगाउन कार्यक्रम आयोजना गरिएको फोरमकी अध्यक्ष आरती लामाले बताइन्। उनले लागूऔषधका कारण युवाको सिर्जनशीलता प्रभावित भइरहेकाले राज्यले युवालाई स्वस्थ, अनुशासित तथा मानसिक र शारीरिक रूपमा सक्षम बनाउन विशेष ध्यान दिनुपर्ने बताइन्।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ। यस वर्षको दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ तय गरिएको छ।
संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २००० देखि प्रत्येक वर्ष अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै आएको छ। युवाको भूमिका र योगदानको महत्व उजागर गर्नु दिवसको मुख्य उद्देश्य हो।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवाको संख्या एक करोड २४ लाख १२ हजार १७३ रहेको छ। यो कुल जनसंख्याको ४२ दशमलव ५६ प्रतिशत हो।
युवा अवस्था जोश, जाँगर, उत्साह र सिर्जनशीलताको महत्वपूर्ण चरण भएकाले उनीहरूलाई सकारात्मक तथा उत्पादनशील गतिविधिमा जोड्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्