सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१३ रामघाटमा श्रीमतीमाथि पेट्रोल छर्केर आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४९ वर्षीय जयबहादुर राना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मंगलबार साँझ करिब ५ बजे जयबहादुरले आफ्नी ५० वर्षीया श्रीमती महेश्वरी रानामाथि पेट्रोल छर्केर आगो लगाएको आरोप छ।
आगो लागेपछि उनीहरूकी १८ वर्षीया छोरी पुष्पा रानाले तत्काल आगो निभाएकी थिइन्। घटनामा महेश्वरीको अनुहार, घाँटी तथा शरीरका विभिन्न भाग जलेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी निरीक्षक कविन्द्रसिंह बोहराका अनुसार महेश्वरीको शरीरको करिब ३५ देखि ३६ प्रतिशत भाग जलेको छ। उनको अवस्था मध्यम रहेको चिकित्सकले बताएका छन्।
घाइते महेश्वरीलाई घटनालगत्तै प्रदेश अस्पताल सुर्खेत, कालागाउँ लगिएको थियो। प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक देखिएपछि उनलाई मंगलबार साँझ नै नेपालगन्जस्थित भेरी अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।
घटनालगत्तै जयबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक बोहराले जानकारी दिनुभयो। घटनाको कारण तथा अन्य विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्