वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना नेटो शिखर सम्मेलनमा सहभागी हुन टर्की जाने क्रममा इरानबाट ज्यानको खतरा महसुस भएपछि गोप्य रूपमा आफ्नो विमान परिवर्तन गरेको बताएका छन्।
बीबीसीसँग मंगलबार कुरा गर्दै ट्रम्पले सुरक्षा निकाय र सेनाको सल्लाहमा आफूले चढ्ने विमान परिवर्तन गरेको खुलासा गरेका हुन्।
‘मैले सिक्रेट सर्भिस र सेनाको सल्लाह मानेँ। उनीहरूले मलाई फरक उडान र अर्को विमानमा जान भने, र मैले त्यही गरे,’ ट्रम्पले भने।
जुलाई ८ मा टेलिभिजन क्यामेराअघि ट्रम्प एयर फोर्स वनमा चढेको दृश्य सार्वजनिक भएपछि उनको विमान परिवर्तनसम्बन्धी विवरण बाहिर आएको हो। अमेरिकी अधिकारीहरूका अनुसार इरानबाट राष्ट्रपतिको विमानमाथि क्षेप्यास्त्र आक्रमण हुन सक्ने जोखिम थियो।
ट्रम्पले आफू इरानको लक्ष्य सूचीमा पहिलो नम्बरमा रहेको बताउँदै आफूलाई केही खतरा महसुस भएको भए पनि त्यसबारे थप जानकारी नलिएको बताए। आफ्नो जीवनमा धेरै धम्की आउने गरेको र तीमध्ये कतिपयबारे आफूलाई जानकारी नहुने पनि उनले उल्लेख गरे।
पुरानो एयर फोर्स वन छाडेर सैन्य विमानमा
वासिङ्टन पोस्टका अनुसार ट्रम्पलाई एयर फोर्स वनबाट विमानको स्तरमै रहेको क्याटरिङ ट्रकमार्फत बाहिर निकालिएको थियो। त्यसपछि उनलाई गोप्य रूपमा सानो सी–३२ए सैन्य विमानमा चढाइएको थियो। यो विमान उपराष्ट्रपतिले प्रयोग गर्ने बोइङ–७५७ को परिमार्जित संस्करण हो।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथ पनि छुट्टै बाहिरी सिँढीबाट सोही विमानमा चढेका थिए। यसबाट राष्ट्रपति सामान्य रूपमा पुरानै विमानमा यात्रा गरिरहेको जस्तो देखाउने प्रयास गरिएको बताइएको छ।
तर एयर फोर्स वनमै रहेका पत्रकार तथा ह्वाइट हाउसका केही कर्मचारीलाई राष्ट्रपति विमानमा नरहेको जानकारी दिइएको थिएन।
पत्रकारलाई झ्यालका पर्दा बन्द गर्न निर्देशन
उडानका क्रममा पत्रकारहरूलाई विमानका झ्यालका पर्दा बन्द गर्न निर्देशन दिइएको थियो। एक फोटोग्राफरले केही समयका लागि पर्दा खोल्दा उनलाई तत्काल बन्द गर्न भनिएको थियो।
ह्वाइट हाउस संवाददाता संघको रिपोर्टअनुसार विमानस्थलमा पत्रकारहरू आइपुग्दा एयर फोर्स वनको अगाडि र पछाडि क्याटरिङ ट्रकहरू राखिएका थिए। पत्रकारहरू सवार विमान पनि राष्ट्रपति चढेको विमानको तस्बिर खिच्न नसक्ने गरी पछाडि राखिएको थियो।
सिक्रेट सर्भिसले राष्ट्रपतिको सुरक्षा सुनिश्चित गर्न यस्तो व्यवस्था गरेको बताइएको छ।
फरक कल साइन प्रयोग
प्राविधिक रूपमा अमेरिकी राष्ट्रपति सवार कुनै पनि विमानलाई ‘एयर फोर्स वन’ भनिन्छ। तर उक्त यात्राका क्रममा ट्रम्प सवार सी–३२ए विमानले ‘रिच १८’ कल साइन प्रयोग गरेको थियो भने पत्रकार सवार विमानले ‘एएफ१’ कल साइन प्रयोग गरेको थियो।
ट्रम्प सी–३२एमार्फत टर्कीबाट बेलायत पुगेका थिए। त्यसपछि उनी संयुक्त राज्य अमेरिका फर्कने क्रममा पुरानो एयर फोर्स वनमा पुनः सवार भएका थिए।
ट्रम्प आरएएफ मिल्डेनहलमा पुरानो एयर फोर्स वनबाट ओर्लिएको देखिए पनि सी–३२एबाट उनी कसरी पुरानो विमानमा पुगे भन्ने विवरण भने स्पष्ट भएको छैन।
‘म इरानको सूचीमा नम्बर एकमा छु’
टर्कीबाट प्रस्थान गर्ने क्रममा ट्रम्पले विमानमा रहेका पत्रकारहरूसँग इरानबाट उत्पन्न खतराबारे कुरा गरेका थिए। तर त्यसअघि आफूले विमान परिवर्तन गरेको कुरा भने खुलाएका थिएनन्।
पत्रकारहरूले विमानका झ्यालका पर्दा बन्द गर्न किन भनिएको भन्ने प्रश्न गर्दा ट्रम्पले आफूहरू सम्भावित रूपमा खतरनाक उडानमा रहेको बताएका थिए।
उनले आफ्नो जीवन सधैँ जोखिममा रहेको उल्लेख गर्दै भने, ‘म इरानको सूचीमा नम्बर एकमा छु।’
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्