काठमाडौं । निर्वाचन प्रहरीका लागि पोशाक खरिदमा ६० करोड रुपैयाँ हिनामिना भएको आरोपसहित संघीय संसद्को लेखा समितिमा परेको उजुरीबारे प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जवाफ दिएका छन्।
फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन प्रहरीको पोशाक खरिद प्रक्रियामा ६० करोड रुपैयाँ हिनामिना भएको आरोप लगाउँदै लेखा समितिमा उजुरी परेको थियो। त्यसको जवाफ दिँदै आईजीपी कार्कीले पोशाक खरिदका लागि विनियोजित रकम व्यापारीको बैंक खातामा पठाइएको जानकारी दिएका छन्।
उनले रकम व्यक्तिगत खातामा पठाइएकोसमेत बताएका छन्। कार्कीले पछिल्लो समय प्रहरी संगठनसँग सम्बन्धित विषयमा बेनामी उजुरी निरन्तर आउने गरेको बताए। उनका अनुसार एउटै समूहबाट मात्रै ३२ देखि ३४ वटासम्म उजुरी परेको छ।
कार्कीले प्रहरी संगठनसँग जोडिएका विषयलाई अनावश्यक रूपमा विवादमा ल्याउँदा निर्वाचन तथा सुरक्षा व्यवस्थामै असर पर्न सक्ने बताएका छन्।
“प्रहरी संगठनलाई जोडेका विषयवस्तुले पुनः निर्वाचन गर्नुपर्ने अवस्था आउन सक्छ। खरिद प्रक्रिया कसैले गरिदिएमा काम सजिलो हुन्थ्यो,” उनले लेखा समितिमा दिएको जवाफमा भनेका छन्, “सुरक्षाको दायित्व प्रहरीको हो।”
खरिद प्रक्रियामा सहकार्य आवश्यक
महानिरीक्षक कार्कीले बेनामी उजुरीहरू मुख्यतः खरिदसम्बन्धी विषयमा केन्द्रित रहेको बताए। उनले खरिद विभाग र सम्बन्धित मन्त्रालयसँग प्रभावकारी सहकार्य भए प्रहरीलाई खरिद प्रक्रिया अघि बढाउन सहज हुने धारणा राखे।
“खरिद विभाग र खरिद मन्त्रालयको सहकार्य भए हामीलाई काम गर्न अझ सहज हुन्थ्यो,” कार्कीले भने।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्