काठमाडौँ । सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८०सार्वजनिक गरेको छ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्ने तथा त्यसमा उल्लिखित सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णयपछि सूचना तथा सञ्चार मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको हो।
१४ पटक शेयर तथा स्वामित्व कारोबार
समितिको प्रतिवेदनअनुसार एनसेल आजियाटा साविकको स्पाइस सेल प्रालिका रूपमा विसं २०५८ मा स्थापना भएदेखि हालसम्म १४ पटक शेयर तथा स्वामित्व खरिद–बिक्री भएको छ।
तीमध्ये अधिकांश कारोबार नेपालबाहिर अफसोर संरचनामार्फत भएको समितिको निष्कर्ष छ।
प्रतिवेदनअनुसार ती कारोबारसँग सम्बन्धित सम्पूर्ण अभिलेख तथा विवरण नेपालका सम्बन्धित आधिकारिक निकायमा पेस भएको नदेखिएको उल्लेख छ।
समितिले केही नेपाली शेयरधनीको शेयर कारोबारको भुक्तानीसमेत नेपालको बैंकिङ प्रणालीमार्फत नभई विदेशमै भएको देखिएको जनाएको छ।
प्रतिवेदनले एनसेलको शेयर तथा स्वामित्व हस्तान्तरणका क्रममा भएका कारोबार, त्यसमा संलग्न संरचना र नेपालका सम्बन्धित निकायमा पेस गरिएका विवरणबारे थप अध्ययन तथा नियमनको आवश्यकता औँल्याएको छ।
सरकारले सार्वजनिक गरेको प्रतिवेदनमा समितिले दिएका सुझाव कार्यान्वयन गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरिसकेको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्