काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने प्रक्रिया अघि बढाएको छ। आयोगले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी तथा सूचना प्रविधिसम्बन्धी सुधारको अध्ययन गर्न दुई छुट्टाछुट्टै समिति गठन गरेको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विदेशमा रहेका नेपालीलाई मताधिकार प्रदान गर्न आवश्यक कानुनी, प्राविधिक तथा व्यवस्थापकीय पक्षको अध्ययन गरी सुझावसहितको प्रतिवेदन तयार गर्न समितिहरू गठन गरिएको हो।
आयुक्त गुरुप्रसाद वाग्लेको संयोजकत्वमा गठित पहिलो समितिमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सदस्य छन्।
त्यस्तै, निर्वाचन आयुक्त डा. राजीव सुब्बाको संयोजकत्वमा दोस्रो समिति गठन गरिएको छ। समितिमा परराष्ट्र मन्त्रालय, एकीकृत डाटा व्यवस्थापन केन्द्र, नेपाल प्रहरीको साइबर ब्युरोलगायत निकायका प्रतिनिधि रहनेछन्।
आयोगले दुवै समितिलाई काम सुरु गरेको मितिले ३० दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।
प्रविधिसँगै कानुनी र सुरक्षा पक्षको अध्ययन
निर्वाचन आयुक्त डा. राजीव सुब्बाले सूचना प्रविधिको प्रयोगमार्फत निर्वाचन प्रक्रियालाई समयानुकूल, सुरक्षित, पारदर्शी, प्रभावकारी, समावेशी तथा विश्वसनीय बनाउन आवश्यक सुधारबारे अध्ययन गर्ने जिम्मेवारी पाएकामा आयोगप्रति आभार व्यक्त गरेका छन्।
उनले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषय प्रविधिको छनोटमा मात्रै सीमित नरहेको बताएका छन्।
‘यो विषय केवल प्रविधिको छनोटमा सीमित छैन,’ उनले भनेका छन्, ‘मतदाता पहिचान, निर्वाचन क्षेत्रसँगको सम्बन्ध, कानुनी आधार, मतदानको गोपनीयता, साइबर सुरक्षा, पहुँच, विश्वसनीयता, लागत, कार्यान्वयन क्षमता र जनविश्वासलगायतका पक्षमा गम्भीर अध्ययन र व्यापक छलफल आवश्यक छ।’
सुब्बाले यस विषयमा सुझाव, अनुसन्धान, अन्तर्राष्ट्रिय अनुभव तथा व्यावहारिक अवधारणा उपलब्ध गराउन सम्बन्धित सबैलाई आग्रह गरेका छन्। प्राप्त सुझावले अध्ययनलाई थप समृद्ध बनाउन महत्त्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ।
आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न कानुनी तथा प्राविधिक तयारी अघि बढाएको जनाएको छ। समितिको अध्ययन तथा सुझावका आधारमा आगामी दिनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था कार्यान्वयनतर्फ प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्