प्यूठान, साउन २८ गते । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा माडी र लुङ्ग्री खोलाको किनारबाट बिहीबार चार जनाको शव फेला परेको छ। घटनापछि स्थानीयवासीमा त्रास र चिन्ता बढेको छ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीका अनुसार बिहीबार बिहानदेखि विभिन्न स्थानमा चारवटा शव फेला परेका हुन्। फेला परेका कुनै पनि शवको पहिचान अहिलेसम्म खुल्न सकेको छैन।
स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२–१३ वर्षीय बालकको शव फेला परेको छ। बालक खोलाको छेउमा उत्तानो अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ। घटनास्थलको निरीक्षणपछि शव पोस्टमार्टमका लागि पठाइएको छ।
त्यस्तै, स्वर्गद्वारी–३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्रै रहेको पुरुषको शव फेला परेको छ। स्वर्गद्वारी–४ गोठीबाङस्थित माडी खोलाको किनारबाट एक महिलाको शवसमेत फेला परेको प्रहरीले जनाएको छ।
स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा टाउको र बायाँ खुट्टा नभएको अवस्थामा अर्की महिलाको शव फेला परेको छ।
शव फेला परेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय भिङ्ग्री, प्रहरी चौकी लामाचौर र इलाका प्रहरी कार्यालय बिजुवारबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
हत्या भएको हुनसक्ने आशंका
डीएसपी अधिकारीले बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै घटनाको अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाइएको बताए।
प्रहरीका अनुसार शवको अवस्था हेर्दा हत्या भएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ। यद्यपि घटनाको वास्तविक कारण पोस्टमार्टम तथा थप अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।
प्रहरीले स्थानीयवासीसँग सोधपुछ गर्नुका साथै घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरिरहेको छ। फेला परेका शवहरूको पहिचान र घटनाको कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्