काठमाडौं । काठमाडौं उपत्यकामा २० लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा रहे पनि ट्राफिक व्यवस्थापनका लागि अझै हात र सिट्ठीमै निर्भर हुनुपरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले बताएका छन्।
नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले बुधबार आयोजना गरेको ‘हिजो, आज र भोलि’ कार्यक्रममा बोल्दै काफ्लेले बढ्दो सवारी चापको तुलनामा ट्राफिक व्यवस्थापनका लागि आवश्यक स्रोतसाधन र जनशक्ति पर्याप्त नभएको बताए।
अधिकार र स्रोतसाधनको अभाव
काफ्लेले ट्राफिक प्रहरीको जिम्मेवारी र कानुनी अधिकार स्पष्ट हुनुपर्ने बताए। उनका अनुसार जनमानसमा सडकसँग सम्बन्धित सबै समस्या ट्राफिक प्रहरीले समाधान गर्नुपर्ने अपेक्षा भए पनि कानुनी रूपमा ट्राफिक प्रहरीको अधिकार सीमित छ।
“ट्राफिक प्रहरी भनेको सरकारले बनाएको कानुनका आधारमा काम गर्ने निकाय हो । हाम्रो उद्देश्य जरिवाना उठाउनु होइन, सबैको सुरक्षा गर्नु हो,” उनले भने।
उनले ट्राफिक प्रहरीलाई आवश्यक अधिकार, स्रोतसाधन र प्रविधि उपलब्ध गराएर दीर्घकालीन रूपमा व्यवस्थापन सुधार गर्नुपर्ने बताए।
दैनिक सात जनाको सडक दुर्घटनामा मृत्यु
काफ्लेले नेपालमा सडक दुर्घटनाको अवस्था गम्भीर रहेको बताए। उनका अनुसार सडक दुर्घटनामा दैनिक औसत सात जनाको मृत्यु हुने र ५० जनाभन्दा बढी मानिस अंगभंग हुने गरेका छन्।
पछिल्लो दशकमा सडक दुर्घटनाका कारण ठूलो जनधनको क्षति भएको भन्दै उनले दुर्घटना न्यूनीकरणका लागि चालक, यात्रु र अन्य सडक प्रयोगकर्ता सबैले सडक अनुशासन पालना गर्नुपर्नेमा जोड दिए।
“ट्राफिक प्रहरीलाई एकछिन नदेख्नेबित्तिकै सडक अनुशासन मिच्ने प्रवृत्ति देखिन्छ,” उनले भने, “ट्राफिक प्रहरीको उपस्थितिभन्दा पनि आफैँले नियम पालना गर्ने संस्कार विकास गर्नुपर्छ।”
मादक पदार्थ र तीव्र गति मुख्य जोखिम
एसएसपी काफ्लेले मादक पदार्थ तथा लागूऔषध सेवन गरेर सवारी चलाउने र तीव्र गतिमा सवारी हाँक्ने प्रवृत्ति दुर्घटनाको प्रमुख जोखिममध्ये रहेको बताए।
उनले चालकलाई गति सीमाको पालना गर्न, लेन अनुशासन कायम गर्न तथा मादक पदार्थ वा लागूऔषध सेवन गरेर सवारी नचलाउन आग्रह गरे।
जेब्रा क्रसिङमा पनि जोखिम
काफ्लेले ट्राफिक प्रहरीले जरिवाना गर्नुको उद्देश्य राजस्व संकलन नभई सडक अनुशासन कायम गराउनु रहेको स्पष्ट पारे। जेब्रा क्रसिङ प्रयोग गर्दा पनि सावधानी अपनाउनुपर्ने भन्दै उनले करिब ५ देखि ७ प्रतिशत सडक दुर्घटना जेब्रा क्रसिङसँग सम्बन्धित रहेको बताए।
उनका अनुसार उपत्यकामा सवारीसाधनको संख्या निरन्तर बढिरहेको अवस्थामा ट्राफिक प्रहरीको मात्र प्रयासले दुर्घटना न्यूनीकरण सम्भव हुँदैन। चालक, यात्रु र पैदलयात्रीसहित सबै सडक प्रयोगकर्ताले नियम पालना गर्ने संस्कार विकास गर्न आवश्यक रहेको उनले बताए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्