काठमाडौं । धर्मवीर भारतीको चर्चित नाटक ‘अन्धा युग’ को नेपाली रूपान्तरित नाटक ‘द एज अफ डार्कनेस’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ।
राजेन्द्र सलभले नेपाली रूपान्तरण गरेको नाटकको निर्देशन सुदीप खतिवडाले गरेका हुन्। महाभारतको युद्धपछि उत्पन्न सामाजिक, राजनीतिक तथा मानवीय संकट र शून्यतालाई केन्द्रमा राखिएको नाटकले हिंसा, सत्ता संघर्ष, प्रतिशोध र नैतिक संकटजस्ता विषयलाई समेटेको छ।
निर्देशक खतिवडाका अनुसार महाभारतको पुरानो कथामार्फत वर्तमान समाजमा देखिने सत्ता संघर्ष, हिंसा र मानवीय जिम्मेवारीका प्रश्नलाई दर्शकमाझ पुर्याउने प्रयास गरिएको छ।
यस नाटकको अर्को रोचक पक्ष भनेको खतिवडाको रंगमञ्च यात्रा पनि यही नाटकबाट सुरु भएको हो। करिब ११ वर्षअघि कलाकारका रूपमा ‘अन्धा युग’ मा अभिनय गरेका खतिवडा अहिले भने सोही नाटकको नयाँ रूपान्तरण लिएर निर्देशकका रूपमा मञ्चमा फर्किएका हुन्।
पुरानो कथालाई वर्तमान समय र दर्शकसँग जोड्दै नयाँ शैलीमा प्रस्तुत गर्ने प्रयास गरिएको उनले बताए।
मण्डला थिएटरको प्रस्तुतिमा रहेको नाटकले युद्धपछि बाँकी रहने हिंसा, प्रतिशोध, सत्ता, नैतिक द्वन्द्व र मानवीय जिम्मेवारीलाई मुख्य विषय बनाएको छ। युद्धले विजेता र पराजित दुवै पक्षमा पार्ने मनोवैज्ञानिक तथा सामाजिक प्रभावलाई समेत नाटकमा प्रस्तुत गरिएको छ।
नाटकमा सबिना चौधरी, कमल रेग्मी, राजाराम गौतम, जिनलव दोर्जे वाङ्जन, आभूषण घिमिरे, मिलन पन्त, इन्द्रकुमार लिम्बु, जोहेब शाह, सुजित मल्ल ठकुरी, सामना राई र विजय दोङलगायत कलाकारले अभिनय गरेका छन्।
सौरभ चालिसे, सलिना विक, जीवन राई र कुमार लामाले नाटकको संगीतमा योगदान दिएका छन्।
‘द एज अफ डार्कनेस’ आगामी भदौ १४ गतेसम्म मण्डला थिएटरमा मञ्चन हुनेछ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्