महाभारत युद्धपछि सुरु भएको अर्को युद्ध, मञ्चमा ‘द एज अफ डार्कनेस’
काठमाडौं । धर्मवीर भारतीको चर्चित नाटक ‘अन्धा युग’ को नेपाली रूपान्तरित नाटक ‘द एज अफ डार्कनेस’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ।
राजेन्द्र सलभले नेपाली रूपान्तरण गरेको नाटकको निर्देशन सुदीप खतिवडाले गरेका हुन्। महाभारतको युद्धपछि उत्पन्न सामाजिक, राजनीतिक र मानवीय संकट तथा शून्यतालाई केन्द्रमा राखिएको नाटकले हिंसा, सत्ता संघर्ष, प्रतिशोध र नैतिक संकटजस्ता समसामयिक विषयलाई प्रस्तुत गरेको छ।
निर्देशक खतिवडाका अनुसार महाभारतको पुरानो कथामार्फत आजको समाजमा देखिने सत्ता संघर्ष, हिंसा र मानवीय जिम्मेवारीका प्रश्नलाई दर्शकमाझ ल्याउने प्रयास गरिएको छ।
रोचक पक्ष के छ भने, करिब ११ वर्षअघि यही नाटकमार्फत खतिवडा अभिनयमा प्रवेश गरेका थिए। त्यतिबेला कलाकारका रूपमा मञ्चमा देखिएका खतिवडा अहिले भने निर्देशकका रूपमा नाटक लिएर आएका हुन्। पुरानो नाटकलाई वर्तमान समय र दर्शकसँग जोड्दै नयाँ शैलीमा प्रस्तुत गरिएको उनको भनाइ छ।
मण्डला थिएटरको प्रस्तुतिमा रहेको नाटकले युद्धपछि बाँकी रहने हिंसा, प्रतिशोध, सत्ता, नैतिक द्वन्द्व र मानवीय जिम्मेवारीलाई मुख्य विषय बनाएको छ। युद्धले विजेता र पराजित दुवै पक्षमा पार्ने मनोवैज्ञानिक तथा सामाजिक प्रभावलाई समेत नाटकमा प्रस्तुत गरिएको छ।
नाटकमा सबिना चौधरी, कमल रेग्मी, राजाराम गौतम, जिनलव दोर्जे वाङ्जन, आभूषण घिमिरे, मिलन पन्त, इन्द्रकुमार लिम्बु, जोहेब शाह, सुजित मल्ल ठकुरी, सामना राई, विजय दोङलगायत कलाकारले अभिनय गरेका छन्।
सौरभ चालिसे, सलिना विक, जीवन राई र कुमार लामाले नाटकको संगीतमा योगदान दिएका छन्।
‘द एज अफ डार्कनेस’ आगामी भदौ १४ गतेसम्म मण्डला थिएटरमा मञ्चन हुनेछ।






प्रतिक्रिया दिनुहोस्