काठमाडौं । डा. कपिल रिजाल निर्देशित नेपाली फिल्म ‘गौँथली’ ले प्रदर्शनको २८औँ दिनमै ऐतिहासिक सफलता हात पारेको छ। चलचित्र विकास बोर्डको तथ्यांकअनुसार बिहीबार दिउँसो १ बजेसम्म फिल्मले देशभरबाट २१ करोड ४४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। फिल्मलाई हालसम्म ७ लाख ९० हजार दर्शकले हेरेका छन्।
‘गौँथली’ले ‘कबड्डी–४’ को रेकर्ड तोड्दै सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा दोस्रो स्थान हासिल गरेको हो। ‘कबड्डी–४’ले २१ करोड ४० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। ‘गौँथली’ले उक्त रकमलाई पार गर्दै नयाँ कीर्तिमान बनाएको हो।
सर्वाधिक कमाउने नेपाली फिल्मको रेकर्ड भने ‘पूर्णबहादुरको सारंगी’ को नाममा कायमै छ। उक्त फिल्मले ४६ करोड ८७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो।
पारिवारिक तथा सामाजिक कथावस्तु
डा. भोला रिजालको कथामा आधारित ‘गौँथली’ले बालविवाह, महिलाले विवाहपछि भोग्नुपर्ने पारिवारिक पीडा तथा श्रीमान्–श्रीमतीबीचको सम्बन्धलाई कथाको मुख्य विषय बनाएको छ। सानै उमेरमा विवाह हुँदा पढाइबाट वञ्चित हुनुपर्ने अवस्था र पराई घरमा बुहारीका रूपमा भोग्नुपर्ने संघर्षलाई फिल्मले प्रस्तुत गरेको छ।
फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्। यस्तै, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय छ।
निर्माणपक्ष
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माणमा सुमन गिरी र डा. कपिल रिजालको महत्वपूर्ण योगदान रहेको छ।
२८ दिनमै २१ करोड ४४ लाख रुपैयाँभन्दा बढीको व्यापार गर्दै ‘गौँथली’ले नेपाली फिल्मको बक्स अफिसमा नयाँ उपलब्धि थपेको छ। अब यसको लक्ष्य सर्वाधिक कमाउने ‘पूर्णबहादुरको सारंगी’को रेकर्डतर्फ अघि बढ्ने देखिएको छ।
Originally published on abcnews.com.np.





प्रतिक्रिया दिनुहोस्