रोल्पा । रोल्पाको थवाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ। पहिरोमा परी अझै ५ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।
साउन २७ गते बेलुका परेको अविरल वर्षापछि आएको लेदोसहितको पहिरोले बस्तीमा क्षति पुर्याउँदा ठूलो मानवीय क्षति भएको हो। पहिरोमा परी दुई जना घाइते भएका छन्। स्थानीय २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्तीमगरलाई उद्धार गरी थवाङ स्वास्थ्य चौकी पुर्याइएको थियो। त्यहाँबाट थप उपचारका लागि उनीहरूलाई बुटवल पठाइएको प्रहरीले जनाएको छ।
पहिरोमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। लगातार वर्षा भइरहेका कारण लेदोसहित थप पहिरो खस्ने जोखिम रहेकाले खोजी तथा उद्धारमा कठिनाइ भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताएका छन्।
पहिरोमा परी मृत्यु हुनेमा १८ वर्षीया शान्ति पुन मगर, ६५ वर्षीय कमल बहादुर पुन मगर, ४० वर्षीया जुन कुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दल बहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर रहेका छन्।
मृतकमध्ये एक महिला र दुई पुरुषको शव प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका तथा माण्डवी गाउँपालिकाअन्तर्गत माडी खोलाको किनारमा फेला परेको प्रहरीले जनाएको छ। शव भेटिएपछि सशस्त्र प्रहरी बल नेपाल गुल्म प्यूठानबाट विपद् व्यवस्थापनसम्बन्धी टोलीसमेत बेपत्ताको खोजीमा परिचालन गरिएको छ।
पहिरोमा बेपत्ता हुनेमा ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बल बहादुर पुन मगर, ७२ वर्षीय लीलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर रहेका छन्।
पहिरोले स्थानीय कमल बहादुर पुन मगरको घरसहित अन्य घर तथा गोठसमेत पुरेको छ। घरगोठ पुरिँदा पशुचौपायासमेत बेपत्ता भएका छन्।
लगातार वर्षा भइरहेकाले घटनास्थल आसपास थप पहिरोको जोखिम कायमै रहेको प्रशासनले जनाएको छ। उद्धार टोलीले जोखिमका बीच बेपत्ता व्यक्तिको खोजीलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्