काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषय सार्वजनिक भएपछि नेपाल राष्ट्र बैंकले बैंकको वित्तीय अवस्था सामान्य रहेको स्पष्ट पारेको छ।
राष्ट्र बैंकले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त विषय आफ्नो जानकारीमा आएको र बैंकको सञ्चालन तथा व्यवस्थापनलाई नजिकबाट अनुगमन गरिरहेको जनाएको हो।
राष्ट्र बैंकका अनुसार बैंकको तरलता अवस्था तथा वित्तीय सबलताका सूचकहरू निर्धारित मापदण्डअनुसार सन्तोषजनक रहेका छन्। त्यसैले बैंकको दैनिक कार्यसञ्चालनमा तत्काल कुनै जटिलता उत्पन्न हुने अवस्था नरहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ।
अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थालाई ध्यानमा राख्दै राष्ट्र बैंकले बैंकको दैनिक सञ्चालन, मुद्दाको प्रकृति, समयावधि र गाम्भीर्यलगायतका विषयमा थप छलफल तथा कानुनी राय लिइरहेको जनाएको छ।
दैनिक कारोबारमा तत्काल असर नपर्ने
सञ्चालक तथा सीईओविरुद्ध अभियोगपत्र दायर भएको विषय सार्वजनिक भएपछि बैंकको सञ्चालन र वित्तीय अवस्थाबारे चासो बढेको थियो। तर राष्ट्र बैंकले हाल बैंकको तरलता र वित्तीय सबलताका सूचकहरू सन्तोषजनक रहेकाले नियमित बैंकिङ कारोबारमा तत्काल असर पर्ने अवस्था नरहेको जनाएको छ।
राष्ट्र बैंकले बैंकको सञ्चालन तथा व्यवस्थापनलाई निरन्तर निगरानीमा राखिएको पनि स्पष्ट पारेको छ।
कानुनी रायपछि आवश्यक निर्णय
राष्ट्र बैंकले अदालतमा विचाराधीन मुद्दाको प्रकृति र बैंकको सञ्चालन अवस्थाको अध्ययनपछि आवश्यक कानुनी राय लिने जनाएको छ।
त्यसपछि प्रचलित कानुनअनुसार बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापन तथा बैंक सञ्चालनका सम्बन्धमा आवश्यक उपाय अवलम्बन गरिने राष्ट्र बैंकले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्