काठमाडौँ । नेपालमा मृत्युपछि हुने अङ्गदानको सङ्ख्या न्यून रहे पनि मस्तिष्क मृत्यु भएका नौ जना व्यक्तिबाट २३ वटा अङ्ग प्रत्यारोपण गरिएको छ।
मृतदाताबाट १७ वटा मिर्गौला, पाँच वटा कलेजो र एउटा संयुक्त कलेजो–मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिइएको छ। नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्ग प्रत्यारोपण सन् २०१७ मा मिर्गौला प्रत्यारोपणबाट सुरु भएको हो।
कलेजो तथा मिर्गौला प्रत्यारोपणविज्ञ डा. पुकारचन्द्र श्रेष्ठका अनुसार एक जना मृत अङ्गदाताबाट आठभन्दा बढी बिरामीको जीवन बचाउन सकिन्छ। नेपालमा जीवित दाताबाट हुने मिर्गौला तथा कलेजो प्रत्यारोपण सेवा विस्तार हुँदै गए पनि मृत्युपछि हुने अङ्गदानलाई व्यापक बनाउन अझै चुनौती रहेको उनले बताए।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. कल्पनाकुमारी श्रेष्ठले मृत्युपछि हुने अङ्गदानलाई प्रभावकारी बनाउन सम्भावित दाताको समयमै पहिचान, परिवारसँग संवेदनशील संवाद र प्राप्त अङ्गलाई सुरक्षित रूपमा सम्बन्धित बिरामीसम्म पुर्याउने प्रणाली आवश्यक रहेको बताइन्।
उनका अनुसार जनचेतना मात्रै बढाएर अङ्गदान विस्तार गर्न सकिँदैन। अस्पतालस्तरमा सम्भावित दाता पहिचान गर्ने संयन्त्र, दक्ष स्वास्थ्यकर्मी, प्रत्यारोपण समन्वयकर्ता, अङ्ग निकाल्ने तथा सुरक्षित राख्ने प्रविधि, छिटो स्थानान्तरणको व्यवस्था र राष्ट्रियस्तरको पारदर्शी अङ्ग वितरण प्रणाली आवश्यक छ।
नेपालमा अङ्गदान तथा प्रत्यारोपणलाई व्यवस्थित गर्न कानुनी व्यवस्था रहेको छ। मानव शरीरको अङ्ग प्रत्यारोपणसम्बन्धी कानुनमा २०७२ सालमा संशोधन गरी नातेदार दाताको दायरा विस्तार गर्नुका साथै गैरनातेदारबीच अङ्ग साटासाट र मस्तिष्क मृत्युपछि हुने अङ्गदानलाई थप व्यवस्थित गर्ने व्यवस्था गरिएको छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२४ मा विश्वभर करिब १ लाख २७ हजार ७२७ वटा अङ्ग प्रत्यारोपण भएका थिए।
प्रणाली बलियो बनाउनुपर्नेमा जोड
चिकित्सकहरूले नेपालमा अङ्गदान गर्न इच्छुक व्यक्तिको सङ्ख्या बढाउनुका साथै दान भएका अङ्गलाई समयमै प्रत्यारोपणमा परिणत गर्न सक्ने प्रभावकारी प्रणाली निर्माणमा जोड दिएका छन्।
यसैबीच, प्रत्येक वर्ष अगस्ट १३ मा मनाइने विश्व अङ्गदान दिवस बिहीबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ। अङ्गदानको महत्वबारे जनचेतना अभिवृद्धि गर्दै मृत्युपछि हुने अङ्गदानलाई प्रोत्साहन गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्