सुदूरपश्चिम । सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) को टोली सुदूरपश्चिम रोयल्सको आधिकारिक इन्टरनेट साझेदार बनेको छ ।
आगामी एनपीएल सिजनका लागि सुबिसु र सुदूरपश्चिम रोयल्सबीच सहकार्यसम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार सुबिसुले टोलीको डिजिटल कनेक्टिभिटी तथा इन्टरनेटसम्बन्धी आवश्यकता पूरा गर्नेछ ।
खेलकुदको उत्साहसँगै समर्थक तथा टोलीलाई भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले साझेदारी गरिएको जनाइएको छ ।
‘नेपाली क्रिकेटको विकासमा सहयोग गर्छौँ’
सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउदले साझेदारीले नेपाली क्रिकेटको विकासमा निरन्तर सहयोग पुर्याउने बताए ।
‘हामी खेलकुदको उत्साहसँगै भरपर्दो र गुणस्तरीय इन्टरनेट अनुभवलाई अझ नजिकबाट जोड्ने प्रयास गर्नेछौँ । नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा सुबिसुको प्रतिबद्धता कायमै रहनेछ,’ उनले भने ।
सुबिसुका अध्यक्ष सुरेन्द्रबहादुर श्रेष्ठले एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याइरहेको बताए । सुदूरपश्चिम रोयल्ससँगको सहकार्य खेलकुदप्रतिको कम्पनीको निरन्तर प्रतिबद्धताको हिस्सा भएको उनको भनाइ छ ।
डिजिटल पक्ष थप मजबुत हुने विश्वास
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले सुबिसुसँगको सहकार्यले टोलीको व्यावसायिक तथा डिजिटल पक्ष थप मजबुत हुने बताए ।
उनले यो साझेदारीलाई व्यावसायिक सहकार्यमा मात्र सीमित नराखी नेपाली क्रिकेट र सुदूरपश्चिम रोयल्सको यात्रामा प्रविधि तथा डिजिटल कनेक्टिभिटीको महत्वपूर्ण भूमिकासँग जोडेर हेरिएको बताए ।
डिजिटल कनेक्टिभिटीले टोली र समर्थकबीचको सम्बन्धलाई थप नजिक बनाउन सहयोग पुग्ने उनको विश्वास छ ।
टोली निर्माणमा तीव्रता
सुदूरपश्चिम रोयल्सले आगामी एनपीएल सिजनका लागि टोली निर्माणको तयारीलाई तीव्र बनाएको छ ।
यसअघि टोलीले इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई पहिलो विदेशी खेलाडीका रूपमा पुनः अनुबन्ध गरिसकेको छ । टोलीले अन्य आवश्यक खेलाडी छनोटको प्रक्रिया पनि अघि बढाएको जनाएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्