काठमाडौँ । नेकपा (एमाले) बाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बेहोस भएर ढलेपछि थपलियालाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि उनले पहिलोपटक आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् ।
विज्ञप्ति जारी गर्दै थपलियाले गत साउन १८ गते बाग्मती प्रदेशको समसामयिक राजनीतिक विषयमा केन्द्रित छलफलमा सहभागी भइरहेका बेला अचानक स्वास्थ्य समस्या देखिएको बताएका छन् ।
उनका अनुसार उच्च रक्तचाप र मधुमेहमा आकस्मिक असन्तुलन भएपछि स्वास्थ्यमा गम्भीर जटिलता उत्पन्न भएको थियो । चिकित्सकको सल्लाहअनुसार थप परीक्षण र उपचारका लागि आफू आठ दिन वीर अस्पतालमा बसेको उनले बताएका छन् ।
सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आफ्नो स्वास्थ्य अवस्थाबारे आएका अपूर्ण र अतिरञ्जित टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाउँदै उनले त्यस्ता सूचनाबाट भ्रमित नहुन आग्रह गरेका छन् ।
‘अपूर्ण सूचना र अनुमानका आधारमा सिर्जना हुन सक्ने अनावश्यक भ्रम निवारण गर्न यो वक्तव्य जारी गरेको छु,’ उनले भनेका छन् ।
वीर अस्पतालका प्रा. डा. ध्रुव गैरेको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले आफ्नो उपचार गरेको र अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको थपलियाले बताएका छन् ।
उनले उपचारमा संलग्न चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीका साथै अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने र स्वास्थ्यलाभको कामना गर्ने पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई धन्यवाद दिएका छन् ।
तत्काल राजनीतिक गतिविधिमा सक्रिय नहुने
अस्पतालबाट डिस्चार्ज भए पनि आफू पूर्णरूपमा स्वस्थ नभइसकेको थपलियाले बताएका छन् ।
चिकित्सकको सल्लाहअनुसार केही समय नियमित औषधि सेवन, पर्याप्त आराम र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने भएकाले तत्काल राजनीतिक तथा सार्वजनिक गतिविधिमा सक्रिय हुन नसक्ने उनले स्पष्ट पारेका छन् ।
पूर्ण स्वास्थ्यलाभपछि थप ऊर्जाका साथ पार्टीको जिम्मेवारी पूरा गर्दै बाग्मती प्रदेशमा एमालेलाई थप सुदृढ बनाउन सक्रिय हुने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
यसैबीच, थपलियाविरुद्ध एमाले बाग्मती प्रदेश संसदीय दलमा अविश्वास प्रस्तावसमेत दर्ता भएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्