काठमाडौं । पर्यटन व्यवसायीले नेपालको पर्यटन क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी र लगानीमैत्री बनाउन व्यवसायीमैत्री पर्यटन ऐन ल्याउन माग गरेका छन्।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले आयोजना गरेको ‘पर्यटन ऐन, २०८१ को मस्यौदामा पदयात्रासम्बन्धी व्यवस्था’ विषयक अन्तरक्रियामा व्यवसायी तथा विज्ञहरूले यस्तो माग गरेका हुन्।
टानका अध्यक्ष सागर पाण्डेले पर्यटन ऐनको प्रस्तावित मस्यौदामा नेपालको पर्वतीय पदयात्रासँग सम्बन्धित अधिकांश विषय समेटिन नसकेको बताए। नेपालको पर्यटन प्रवर्द्धनमा पदयात्रा पर्यटनको महत्वपूर्ण योगदान रहेकाले नयाँ ऐनले यस क्षेत्रलाई प्राथमिकताका साथ समेट्नुपर्ने उनको भनाइ छ।
सरोकारवालासँग पर्याप्त छलफलको माग
पर्यटन व्यवसायी निमा लामाले नेपाललाई आरोग्य तथा योग पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए। पर्यटन क्षेत्रसँग सम्बन्धित कानुन निर्माण गर्दा सरोकारवाला निकायका प्रतिनिधिसँग पर्याप्त छलफल गर्नुपर्ने उनले बताए।
वरिष्ठ पर्यटन व्यवसायी रमेश धमलाले पर्यटन ऐनलाई व्यवसायमैत्री बनाउन सम्बन्धित मन्त्रालय र व्यवसायीबीच प्रभावकारी छलफल तथा समन्वय आवश्यक रहेको बताए।
त्यस्तै, पर्यटन व्यवसायी दिपक महतले प्रस्तावित ऐनले नेपालको समग्र पर्यटन क्षेत्रलाई समेट्नुपर्नेमा जोड दिए।
प्रशासनिक जटिलता हटाउन नयाँ ऐन आवश्यक
टानका पूर्वअध्यक्ष सुमन पाण्डेले पर्यटन व्यवसाय सञ्चालनका क्रममा देखिएका प्रशासनिक समस्या, अनुमति तथा नवीकरण प्रक्रियाका जटिलता, विभिन्न सरकारी निकायबीचको समन्वय अभाव र नीतिगत अस्पष्टता हटाउन नयाँ ऐन आवश्यक रहेको बताए।
उनले नयाँ पर्यटन ऐन व्यवसायीमैत्री र व्यावहारिक हुनुपर्नेमा जोड दिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्