काठमाडौँ । ‘केसामी–नाम्सामी’ हेरेर बाहिर निस्कँदा आँखामा आँसु नआउन सक्छ, तर मनमा एउटा प्रश्न भने लामो समयसम्म घुमिरहन्छ—आखिर यो पृथ्वी मानिसको मात्र हो र ?
लिम्बू (याक्थुङ मुन्धुम) मा जीवित ‘केसामी–नाम्सामी’को कथा यही प्रश्न बोकेर मञ्चमा प्रस्तुत हुन्छ । एउटै आमाका दुई छोरा केसामी र नाम्सामीमध्ये एक बाघको र अर्को मानिसको हुन्छ । सुरुवाती दिनमा सँगै बाँच्ने उनीहरू समयसँगै आफ्नै स्वभावको विपरीत ध्रुवमा पुग्छन् ।
केसामीमा जंगली आवेग बढ्दै जान्छ भने नाम्सामीमा विवेक झल्किन्छ । नाम्सामीले दाइको हिंस्रक स्वभाव परिवर्तन होस् भनेर थाक्थुङ तागेरा निङवाफुमाङसँग प्रार्थना गर्छन् । तर हिंसा रोकिँदैन । बाघ झन् हिंस्रक बन्दै जान्छ । अन्ततः एउटै आमाका दुई छोरा एक–अर्काको अस्तित्वकै विरुद्ध उभिन्छन् ।
त्यस बेला आमा तिगेन्जङनाको मौनता नै सबैभन्दा ठूलो संवाद बन्न पुग्छ । केसामीको अहंकार र क्रोध बढ्दै जाँदा तिगेन्जङनाले भन्छिन्, ‘मभन्दा ठूलो यो संसारमा अरू छैन लाग्छ छोरा तँलाई ? आकाश छुने घमण्ड गरेको बाँसको टुप्पो पनि एकदिन भुइँतिरै निहुरिनुपर्छ ।’
यो संवादले कथालाई अहंकारको अन्त्यतर्फ डोर्याउँछ ।
नाम्सामीको प्रश्न र आमाको मौनता
नाम्सामीले आमालाई प्रश्न गर्छन्, ‘दाइ र मेरो अनुहार र स्वभाव किन एउटै छैन ?’
आमा फेरि मौन हुन्छिन् । सायद केही प्रश्नको उत्तर शब्दमा हुँदैन, मौनतामै खोज्नुपर्ने हुन्छ ।
नाटकको कथा सिमलको नवौँ तलाबाट अघि बढ्छ । अन्ततः नाम्सामीले सिमलको नवौँ तलाबाट हानेको वाणले केसामीलाई ढाल्छन् । केसामीको नाममा राखिएको अन्दङ फूल ओइलाउँदै जान्छ भने नाम्सामीको नाममा राखिएको सेक्मुरी फूल हलक्कै भएर आउँछ ।
मञ्चमा फूलको यो रूपान्तरणले पशुत्वमाथि मानवताको विजयको संकेत गर्छ । तर नाटक त्यतिमै रोकिँदैन । केसामीको बाघको छाला काडिन्छ र त्यही छालाबाट नाम्सामीले च्याब्रुङ बनाउँछन् ।
मृत्युबाट धुन, प्रकृतिबाट संस्कृति
त्यसपछि कथा अर्को अर्थमा प्रवेश गर्छ । बाघको शरीरबाट च्याब्रुङ जन्मिन्छ । मृत्युबाट धुन जन्मिन्छ । प्रकृतिबाट संस्कृति जन्मिन्छ ।
तर यसलाई केवल मानिसले बाघमाथि विजय पाएको कथा भनेर बुझ्नु पर्याप्त हुँदैन । बाघ पनि यही पृथ्वीको हो, मान्छे पनि । जंगलको पनि अस्तित्व छ, मान्छेको पनि । एउटा समाप्त भएर अर्को पूर्ण हुने होइन, सहअस्तित्वमै पृथ्वीको अर्थ छ ।
सायद ‘केसामी–नाम्सामी’को सबैभन्दा सुन्दर पक्ष यही हो । नाटकले प्रकृतिमा सबैको अस्तित्व बराबर रहेको चेतना दिन्छ । मानव सभ्यता प्रकृतिभन्दा अलग उभिएको कुनै छुट्टै संसार होइन भन्ने कुरा पनि यसले सम्झाउँछ ।
मुन्धुम आफैँमा एउटा विशाल काव्य हो । यसको मौखिक लय, प्रतीक, मिथकीय स्मृति र सांस्कृतिक तहलाई रङ्गमञ्चमा उतार्नु सामान्य काम होइन । यासेली योङहाङको नाट्य रूपान्तरण यही कारण विशेष ध्यान दिनलायक देखिन्छ ।
उनले कथालाई केवल संवादमा सीमित राखेका छैनन्, त्यसको सांस्कृतिक र मिथकीय भावलाई रङ्गमञ्चको भाषामा ल्याउने प्रयास गरेका छन् । कतिपय ठाउँमा संवाद अझ कवितात्मक हुन सक्थ्यो । मुन्धुमको विशाल काव्यात्मकता मञ्चमा पूर्ण रूपमा आउन नसकेको अनुभूति पनि हुन्छ । यद्यपि रूपान्तरणको मिहिनता भने स्पष्ट देखिन्छ ।
निर्देशन, संगीत र कलाकार
निर्देशनमा अनिल सुब्बाले परम्परा र आधुनिक रङ्गभाषाबीच सन्तुलन खोजेका छन् । मञ्च सजावट, प्रप्स र पोसाकमा लोकसंस्कृतिको सम्बन्ध स्पष्ट देखिन्छ । ती वस्तुहरू केवल सजावट होइनन्, नाटकको सांस्कृतिक भूगोल निर्माण गर्ने माध्यम बनेका छन् ।
त्यसमा संगीत थपिन्छ । विशेषगरी पृष्ठभूमि संगीत नाटकको बलियो पक्ष हो । दृश्य र भावबीच संगीतले निर्माण गर्ने वातावरणले कथालाई निरन्तर समातिराख्छ ।
येमा–साम्बाको भूमिकामा अञ्जना राई छिन् । लिम्बू लोकलवजलाई उनले यति स्वाभाविक रूपमा आत्मसात् गरेकी छन् कि लिम्बू भाषामा जोखना फलाकिरहँदा उनी राई हुन् भन्ने कुरा बिर्साइदिन्छ । आफ्नो नभएको संस्कृतिलाई अभिनयमा यति आत्मीय बनाउनु कलाकारिताको उल्लेखनीय पक्ष हो ।
सौजन सेनेहाङ लिम्बू नाम्सामीको भूमिकामा प्रशंसायोग्य देखिन्छन् । पात्रको डर, विवेक, जिज्ञासा र संघर्षलाई उनले सन्तुलित ढंगले प्रस्तुत गरेका छन् ।
केसामीको भूमिकामा आकाश सुहाङले शरीरभित्रै धेरै काम गरेको अनुभूति हुन्छ । उनको अभिनयमा बाहिरी हाउभाउ मात्र छैन, बाघको आन्तरिक स्वभाव शरीरभित्रै निर्माण गरेको देखिन्छ । चाल, नजर, शरीरको तनाव र आवाजले उनलाई कतिपय क्षणमा कलाकारभन्दा बढी साँच्चिकै बाघजस्तो अनुभूति गराउँछ ।
आमाको भूमिकामा पुष्पाञ्जली लिम्बू छिन् । उनको सबैभन्दा सुन्दर पक्ष लवज हो । आवाज र बोल्ने ढंगले आमाको चरित्रमा आत्मीयता थपेको छ । उनको मौनतामा पनि कथा बोलिरहेको हुन्छ ।
नाटकको मूल्य
‘केसामी–नाम्सामी’ पूर्ण नाटक नहुन सक्छ । केही ठाउँमा प्रकाश कमजोर देखिन्छ । केही दृश्य सुस्त गतिमा अघि बढेको अनुभूति हुन्छ । मुन्धुमको काव्यात्मक सम्भावनालाई अझ धेरै रङ्गमञ्चीय बनाउन सकिने ठाउँहरू पनि छन् ।
तर नाटकको मूल्य कमजोरी गनेर मात्र निर्धारण हुँदैन । यसको मूल्य यसमा छ कि यसले एउटा समुदायको मौखिक लोकस्मृतिलाई समकालीन मञ्चमा ल्याएको छ । यसको मूल्य यसमा छ कि यसले एउटा प्राचीन मिथकलाई आजको प्रश्न बनाएको छ ।
र यसको सबैभन्दा ठूलो मूल्य शायद यही हो—नाटकले रुवाउँदैन, तर सोच्न बाध्य बनाउँछ ।
बाघ मर्छ । फूल ओइलाउँछ । अर्को फूल फक्रिन्छ । बाघको छालाबाट च्याब्रुङ जन्मिन्छ । अनि च्याब्रुङको धुनमा एउटा पुरानो कथा सधैँ जीवित रहन्छ ।
त्यो धुनले हामीलाई सायद यही कुरा सम्झाइरहन्छ—पृथ्वीमा मानिस एक्लो छैन । यहाँ बाघको पनि घर छ, मान्छेको पनि । अन्ततः जीवनको सुन्दरता जितमा होइन, सहअस्तित्वमा जीवित हुन्छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्