काठमाडौं । निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण हुन लागेको फिल्म **‘शुभ विवाह’**को बिहीबार औपचारिक घोषणा गरिएको छ । पत्रकार सम्मेलनमार्फत निर्माण पक्षले फिल्मका मुख्य कलाकार तथा प्राविधिक टोली सार्वजनिक गरेको हो ।
प्रियादर्शन फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा देखिनेछन् । घोषणा कार्यक्रममा प्रदीप र सनिशाले एकअर्कालाई वरमाला लगाएर औँठी साटेका थिए ।
फिल्ममा प्रदीप र सनिशासँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यलगायत कलाकारको अभिनय रहनेछ ।
निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काले यसअघि **‘प्रेम गीत’**मा सहकार्य गरेका थिए । उक्त फिल्म सफल भएपछि उनीहरूको सहकार्यलाई दर्शकले चासोका साथ हेर्दै आएका छन् ।
निर्माण टोली
सुप्रिया कटुवालको निर्माण रहने फिल्मका कार्यकारी निर्माता साम भुजेल हुन् । प्रदीप श्रीवास्तवले कथा लेखेका छन् भने रामशरण पाठकले पटकथा तथा संवाद तयार पारेका छन् ।
बसन्त अधिकारी (प्रमुख), साजन कट्टेल र प्रार्थना पाठक सह–निर्देशकका रूपमा रहनेछन् । फिल्मका लागि सुशीला केसी (लगन बुटिक) र आकृति पन्त (सेन्ट्रल फेसन एकेडेमी)ले पोशाक तयार पार्नेछन् ।
फागुन २१ गते प्रदर्शन
रोमान्टिक कथावस्तुमा आधारित फिल्मको छायांकन चाँडै सुरु गर्ने निर्माण पक्षले जनाएको छ ।
फिल्मलाई आगामी फागुन २१ गतेदेखि देशभर प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।
Originally published on abcnews.com.np.





प्रतिक्रिया दिनुहोस्