काठमाडौं । नेपाली कांग्रेसका नेता कान्छाराम तामाङले पार्टीको संरक्षण र एकताका लागि पूर्वसभापति शेरबहादुर देउवाले भूमिका खेल्नुपर्ने बताएका छन् ।
करिब पाँच महिनापछि स्वदेश फर्किएका देउवालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका तामाङले पार्टीभित्रको विवाद समाधान गरी कांग्रेसलाई एकताबद्ध बनाउन देउवाको भूमिका महत्वपूर्ण हुने बताए ।
तामाङले देउवालाई आफूहरूले ‘उचालेर ल्याएको’ नभई उहाँको लामो राजनीतिक योगदान र हैसियतका कारण सम्मान गरिएको बताए ।
‘उहाँलाई हामीले उचालेर ल्याएको भन्ने कुरै हुँदैन । उहाँ पाँच पटक यो देशको प्रधानमन्त्री भएको मान्छे, दुई पटक पार्टी सभापति भइसक्नुभयो,’ उनले भने ।
कांग्रेसको आधिकारिकताबारे अदालतको निर्णय पर्खिनुपर्ने
तामाङले देउवाको स्वास्थ्यमा समस्या आएपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको प्रसङ्ग पनि स्मरण गरे ।
उनले निर्वाचन आयोगले गगन थापालाई पार्टीको आधिकारिकता दिएको विषय अदालतमा विचाराधीन रहेको भन्दै अन्तिम निर्णयका लागि कानुनी प्रक्रियालाई पर्खिनुपर्ने बताए ।
‘निर्वाचन आयोगले गगनजीलाई आधिकारिकता दिएको छ, अदालतमा मुद्दा छ । भोलि हामीलाई नै दिन्छ कि, कसले जानेको छ र ? कानूनभन्दा ठूलो केही हुँदैन,’ तामाङले भने ।
‘जिम्मेवार भएर लागे पार्टी मिल्छ’
तामाङले अदालतको निर्णयपछि पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बताए । सबै पक्ष जिम्मेवार भएर प्रस्तुत भए कांग्रेसको विवाद धेरै समय नलाग्ने गरी समाधान गर्न सकिने उनको दाबी छ ।
उनले पार्टी मिलाउन सबै पक्षले जिम्मेवारीपूर्वक पहल गर्नुपर्ने बताए ।
देउवाकी पत्नी आरजु राणा देउवा पनि स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्किने तामाङले जानकारी दिए ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्