काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएसँगै कांग्रेसभित्र एकता कायम गर्ने वातावरण बन्ने बताएका छन्।
देउवा नेपाल फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले कांग्रेसलाई एकताबद्ध बनाउँदै देशका प्रजातन्त्रवादी शक्तिलाई समेत एक ठाउँमा ल्याउन देउवाको महत्वपूर्ण भूमिका हुने बताए।
उनले नेपालको लोकतान्त्रिक व्यवस्था बलियो बनाउन कांग्रेसभित्रको एकता अपरिहार्य रहेको उल्लेख गरे।
“अहिले आन्तरिक राजनीतिमा पनि नेपाली कांग्रेसलाई मिलाएर लिएर जानुपर्ने आवश्यकता छ। हामी सबै नमिले नेपालको प्रजातन्त्र र नेपालको लोकतान्त्रिक पद्धति दरो हुन सक्दैन।”
खतिवडाले कांग्रेस कमजोर हुँदा राष्ट्रियता, संवैधानिक व्यवस्था र संसदीय प्रजातन्त्र कमजोर हुँदै गएको दाबी गरे। संसद्को अवस्था समेत कमजोर भएको उनको भनाइ थियो।
देउवाले अभिभावकीय भूमिका खेल्ने विश्वास
कांग्रेसका अनुभवी नेता देउवाले पार्टीको आन्तरिक राजनीतिलाई सही दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने खतिवडाले बताए।
“पार्टीको आन्तरिक राजनीति पनि एउटा बाटोमा जान्छ, पार्टी मिलेर जाने वातावरण सिर्जना हुन्छ। नेपालको विकसित राजनीतिमा पनि एउटा अभिभावकीय भूमिका उहाँले निर्वाह गर्ने विश्वास लिएका छौँ।”
उनले पुराना र नयाँ राजनीतिक शक्तिलाई समेत समेटेर अघि बढ्न सक्ने क्षमता देउवामा रहेको बताए।
खतिवडाका अनुसार देउवाको स्वदेश फिर्तीले कांग्रेसभित्रको विवाद समाधान, पार्टी एकता र नेपालको लोकतान्त्रिक शक्तिबीच सहकार्यका लागि नयाँ वातावरण बन्ने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्