कास्कीमा मोदीखोलामा आएको बाढीका कारण अन्नपूर्ण माता मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ। उनीहरूको शुक्रबार बिहान ८ः१५ बजे उद्धार गरिएको हो।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, कास्कीबाट खटिएको रोप–रेस्क्यु तथा गोताखोरसहितको टोलीले नेपाल प्रहरीसँगको समन्वयमा उनीहरूको उद्धार गरेको हो।
उद्धार गरिएकामा पोखरा महानगरपालिका–१८ सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई अन्नपूर्ण गाउँपालिका–८ स्थित वीरेठाँटी माध्यमिक विद्यालयमा कार्यरत ३० वर्षीय शिक्षक रेवन्तप्रसाद सिंह र मन्दिरका ५२ वर्षीय पुजारी निर्माण गिरी छन्।
प्रहरीका अनुसार पुजारी गिरी भारतीय नागरिक हुन्। उनी विगत पाँच वर्षदेखि अन्नपूर्ण माता मन्दिरमा पुजारीका रूपमा कार्यरत थिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्