बागलुङ/बागलुङ नगरपालिका डेंगु सङ्क्रमणको केन्द्र बनेको छ । यहाँ साउन महिला लागे यता डेंगु सङ्क्रमितको संख्या २ सय १० पुगेको छ ।
तीव्र गतिमा डेंगु फैलिएपछि प्रदेश जनस्वास्थ्य कार्यालयको अगुवाईमा नगरक्षेत्रमा ‘खोज र नष्ट’ गर अभियान सञ्चालन गरिएको छ । कार्यालयको तथ्यांकअनुसार, मंगलबारसम्म बागलुङ जिल्लामा डेंगु सङ्क्रमितको संख्या २ सय ८९ पुगेको छ ।
डेंगु फैलिएपछि धालागिरी प्रादेशिक अस्पताल, बुर्तिवाङ जिल्ला अस्पताल र गलकोट नगर अस्पतालमा उपचार गराउनेको बिरामीको संख्या बढेको प्रदेश जनस्वास्थ्य कार्यालयका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।
ज्वरो आएर प्रयोगशालामा जाँच गर्दा धौलागिरी अस्पतालमा २ सय १०, गलकोटमा २९, बुर्तिवाङमा ३ र कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा २ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । निजी संस्था र मेडिकलहरुमा पनि डेंगु परीक्षण भइरहेकाले सङ्क्रमितको संख्या धेरै भएको घिमिरेले अनुमान गरे ।
डेंगु तीव्र गतिमा फैलिएपछि जनस्वास्थ्य कार्यालयले ‘खोज र नष्ट गर’ अभियान संचालन गरिएको घिमिरेले जानकारी दिनुभयो । ‘‘डेंगुको जोखिम बढेपछि सचेतना फैलाउने र सरसफाइ अभियान शुरु गरेका छौं’’ घिमिरेले भने ।
लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्ने, लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन निरन्तर सरसफाइको लागि समुदायमा जनचेतना फैलाउने योजना बनेको घिमिरेले बताए ।
धौलागिरि प्रादेशिक अस्पतालका मेडिकल अधिकृत डा. सन्दिप केसी समुदायस्तरमा डेंगु संक्रमण तीव्र गतिमा फैलिँदै गएको बताउँछन् । डेंगु भाइरल रोग भएकोले लक्षण देखिएमा घरमै अनुमान गरेर औषधि सेवन नगरी तुरुन्त स्वास्थ्य संस्थामा गई चिकित्सकको परामर्श लिन डा. केसीको सुझाव छ ।
ज्वरो घटेको २४ देखि ४८ घण्टाभित्र गम्भीर अवस्था देखिन सक्ने भएकोले लगातार बान्ता हुने, पेटमा अत्यधिक दुखाइ, नाक, गिजा वा दिसापिसाबबाट रगत आउने, कमजोरी, चक्कर लाग्ने, सास फेर्न गाह्रो हुने, हातखुट्टा चिसो हुने र पिसाबको मात्रा कम हुने लक्षण देखिएमा तुरुन्त अस्पताल पुग्न डा. केसीले आग्रह गरेका छन् ।
डेंगु पुष्टि भएमा प्रशस्त झोल पदार्थ, नरिवलको पानी, इच्क्, सूप र कम चिनी भएका पेय पदार्थको सेवन गर्ने, पर्याप्त आराम गर्नुपर्ने केसीको भनाई छ ।
डेंगु एडिज जातको लामखुट्टेको टोकाइबाट सर्छ । डेंगुबाट बच्न पानी छोपेर राख्ने, शरीर ढाकिने गरी कपडा लगाउने, घरभित्र, कुनाकाप्चामा लामखुट्टे आउन नदिन र लामखुट्टेविरुद्व औषधी छर्कन जनस्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्