काठमाडौं । इजरायली सेनाले कब्जा गरिएको वेस्ट बैंकको कुस्रा क्षेत्रमा रहेका प्यालेस्टिनी परिवारलाई घर खाली गर्न आदेश दिएको छ । स्थानीय बासिन्दाका अनुसार सेनाले ती घरमा आफ्ना सैन्य अड्डा बनाएको छ ।
केही दिनदेखि इजरायली बसोबासीको आक्रमण जारी रहेका बेला सेनाले घेराबन्दीमा परेका घरसम्म पुग्ने बाटोमा थप प्रतिबन्ध लगाएको स्थानीयवासीले बताएका छन् । पानी र बिजुलीको आपूर्ति काटिनुका साथै पहुँच मार्ग बन्द गरिएको र अत्यावश्यक सामग्रीको आपूर्तिसमेत रोकिएको उनीहरूको भनाइ छ ।
बेलायती सांसद स्टिफन डौटीले कुस्रामा प्यालेस्टिनीमाथि इजरायली बसोबासीले गरेको हिंसाका रिपोर्टप्रति आक्रोश व्यक्त गर्नुभएको छ । मध्यपूर्व, उत्तर अफ्रिका, अफगानिस्तान र पाकिस्तान हेर्ने बेलायती राज्यमन्त्री डौटीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत आफू घटनाबारे स्तब्ध भएको बताउनुभएको हो ।
उहाँले सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न र दोषीलाई जवाफदेही बनाउन आग्रह गर्नुभएको छ । साथै अन्तर्राष्ट्रिय कानुनको पालना गर्न आह्वान गर्दै इजरायली बस्तीहरू अन्तर्राष्ट्रिय कानुनअनुसार अवैध रहेको र तिनले दुई–राज्य समाधानको सम्भावनालाई कमजोर बनाइरहेको बताउनुभएको छ ।
नाबलसको दक्षिणमा रहेको कुस्रा गाउँमा इजरायली बसोबासीले केही दिनदेखि तीनवटा प्यालेस्टिनी घरलाई घेराबन्दीमा राखेका थिए ।
टर्कीको आरोप
टर्कीका विदेशमन्त्री हाकान फिदानले इजरायलले गाजाबाट सम्पूर्ण प्यालेस्टिनीलाई विस्थापित गर्न खोजेको आरोप लगाउनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय माग पालना गर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि तत्काल दबाब बढाउनुपर्ने बताउनुभएको छ ।
इजिप्टको अल–अलामेन सहरमा आफ्ना समकक्षी बदर अब्देलात्तीसँगको संयुक्त पत्रकार सम्मेलनमा फिदानले नेतान्याहुले मानव गरिमालाई लत्याउने नीति अघि बढाइरहेको आरोप लगाउनुभएको हो ।
गाजामा भइरहेको हिंसा रोक्न टर्की र इजिप्ट ट्रम्प–समर्थित ‘गाजा बोर्ड अफ पिस’मा सामेल भएको पनि उहाँले बताउनुभएको छ । फिदानले उक्त पहलमार्फत हिंसा केही हदसम्म रोक्न सफल भएको दाबी गर्नुभएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्