काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्वसभापति शेरबहादुर देउवालाई पार्टीभित्र फरक मत राख्ने पक्षलाई विरोधीका रूपमा नहेर्न आग्रह गरेका छन्।
सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै शर्माले देउवालाई पार्टीका सबै पक्षसँग समन्वय गरेर अघि बढ्न सुझाव दिए। उनले आफूहरूले विगतमा देउवालाई पाँचपटक प्रधानमन्त्री भइसकेकाले अब विश्राम लिन आग्रह गरेको प्रसंगसमेत स्मरण गरे।
शर्माले भने, “आज त्यहाँ भेलामा शेरबहादुर दाइको जयजयकार गाउँदै गर्दा सानेपामा मिटिङ बसिरहेका चाहिँ विरोधी हुन् भन्ने कुरा उहाँले सोच्नु हुँदैन।”
उनका अनुसार सानेपामा बैठकमा सहभागी नेताहरू विगतमा देउवालाई साथ दिएका तथा १४औँ महाधिवेशनमा सभापति बनाउन मतदान गरेका व्यक्तिहरू नै हुन्। त्यसैले सबै पक्षलाई समेटेर अघि बढ्ने घोषणा देउवाबाट आउनुपर्ने उनको भनाइ छ।
‘सबैको सुन्न चाहन्छु भन्नुपथ्र्यो’
शर्माले कांग्रेसले देउवालाई औपचारिक रूपमा स्वागत गरिसकेको उल्लेख गर्दै स्वदेश फर्किएपछि देउवाले सबै पक्षको कुरा सुन्ने प्रतिबद्धता जनाउनुपर्ने अपेक्षा रहेको बताए।
उनले भने, “म लामो समयपछि देश फर्किएको छु, म सबैको सुन्न चाहन्छु, यो बेला सबै एक हुन जरुरी छ” भन्ने सन्देश देउवाबाट आउनुपर्ने थियो।
‘३६ वर्षको व्यक्ति प्रधानमन्त्री बन्न सक्छ भने पार्टी नेतृत्व किन सक्दैन?’
उपसभापति शर्माले कांग्रेसले बदलिँदो राजनीतिक परिस्थितिलाई आत्मसात् गर्नुपर्ने बताए। उनले आफूहरूले परिवर्तनलाई स्वीकार गर्ने लिखित प्रतिबद्धता गरिसकेको उल्लेख गर्दै नयाँ पुस्तालाई पार्टी नेतृत्वमा अवसर दिनुपर्ने तर्क गरे।
उनले भने, “एउटा ३६ वर्षको युवक देशको प्रधानमन्त्री भएको कुरालाई हामीले आत्मसात् गरेका छौँ। त्यही आसपासको उमेरका व्यक्तिलाई पार्टी नेतृत्व मान्न किन नसक्ने?”
१५औँ महाधिवेशनबाट गगनलाई सभापति बनाउने दाबी
शर्माले आफूहरूले अघि सारेको सातबुँदे प्रस्तावमाथि छलफल गर्न आग्रह गर्दै आवश्यक संशोधनका लागि आफूहरू तयार रहेको बताए।
उनले विधानअनुसार मंसिरमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन गराएरै छाड्ने दाबी गरे। साथै, सभापतिका लागि आवश्यक ५१ प्रतिशत मत मात्र नभई परिस्थितिअनुसार ७१ प्रतिशत मत ल्याएर गगनकुमार थापालाई सभापति बनाउने घोषणा गरे।
उनले भने, “५१ होइन ७१ प्रतिशत मत ल्याएर हामी सभापति बनाएर नयाँ ऊर्जाका साथ कांग्रेसलाई अगाडि बढाउँछौँ।”
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्