रौतहट । आँखाको सामान्य समस्या लिएर उपचारका लागि टाढा जानुपर्ने चन्द्रनिगाहपुर तथा आसपासका बासिन्दाको बाध्यता हटेको छ। चन्द्रपुर नगर अस्पतालमा तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालनमा आएपछि स्थानीयस्तरमै आँखासम्बन्धी परीक्षण, उपचार र परामर्श सेवा उपलब्ध हुन थालेको हो।
अस्ट्रेलियन एडको सहयोग तथा चन्द्रपुर नगरपालिकाको सहकार्यमा तिलगंगा आँखा अस्पतालको शाखाका रूपमा स्थापना गरिएको केन्द्र शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। केन्द्रमा आँखासम्बन्धी प्राथमिक परीक्षण, सामान्य उपचार तथा आवश्यक परामर्श सेवा प्रदान गरिनेछ।
उपचारका क्रममा जटिल समस्या पहिचान भएका बिरामीलाई थप उपचारका लागि निजगढस्थित तिलगंगा आँखा अस्पताल तथा आवश्यकताअनुसार काठमाडौं रेफर गर्ने व्यवस्था मिलाइएको छ।
अस्पतालका प्रमुख डा. विष्णुहरि मरठ्ठाले स्थानीयस्तरमै प्रारम्भिक परीक्षण र उपचारको सुविधा उपलब्ध हुँदा बिरामीको समय र उपचार खर्च दुवै बचत हुने बताए। उनका अनुसार सामान्य आँखाका समस्या केन्द्रमै उपचार गरिनेछ भने विशेषज्ञ सेवा आवश्यक पर्ने बिरामीलाई सम्बन्धित अस्पतालमा पठाइनेछ।
आर्थिक अवस्था कमजोरलाई निःशुल्क सेवा
तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पीताम्बर अधिकारीका अनुसार आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निःशुल्क तथा अन्य बिरामीलाई छुटसहित नाफारहित ढङ्गले सेवा उपलब्ध गराइनेछ।
आवश्यकताअनुसार बिरामीको निःशुल्क शल्यक्रियाको समेत व्यवस्था गरिने उनले जानकारी दिए।
चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय काफ्लेले नगर क्षेत्रमै गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले केन्द्र विस्तार गरिएको बताए। सामान्य आँखाको जाँच तथा उपचारका लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गर्न केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष सञ्जय कार्कीले केन्द्र सञ्चालनमा आएपछि स्थानीय नागरिकले सहज रूपमा गुणस्तरीय आँखा उपचार सेवा पाउने वातावरण बनेको बताए।
केन्द्र सञ्चालनमा आएसँगै चन्द्रपुर नगरपालिका तथा आसपासका स्थानीय तहका नागरिकले स्थानीयस्तरमै आँखासम्बन्धी उपचार सेवा पाउने भएका छन्। उद्घाटन कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ मानव संशाधन प्रबन्धक मुकेशकुमार सिंह, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरोकारवाला तथा स्थानीय नागरिकको सहभागिता रहेको थियो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्