झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक गृहजिल्ला झापा पुगेका छन्।
शनिबार चन्द्रगढी विमानस्थलमा ओलीलाई एमालेका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयले स्वागत गरेका थिए। विमानस्थलमा ओलीले सञ्चारकर्मीसँग भने कुनै प्रतिक्रिया दिएनन्।
राजनीतिक तथा सांगठनिक कार्यक्रमका लागि झापा पुगेका ओली स्वागतलगत्तै इलामको फिक्कलतर्फ लागेका छन्। एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार ओलीले शनिबार फिक्कलमा आयोजित आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ।
त्यसपछि ओली इलाम बजार पुगेर जिल्लाका अगुवा कार्यकर्तासँग भेटघाट तथा छलफलमा सहभागी हुनेछन्।
आइतबार झापामा पार्टी जागरण अभियान
ओली आइतबार बिहान झापा फर्किने कार्यक्रम छ। बिर्तामोडमा सुरु हुने एमाले झापा जिल्ला कमिटीको ‘पार्टी जागरण अभियान’ उनले उद्घाटन गर्नेछन्।
अभियान उद्घाटन समारोहलाई सम्बोधन गरेपछि ओली आइतबार अपराह्न ४ बजे काठमाडौँ फर्किने तालिका रहेको एमालेले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्