ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नालाको सांस्कृतिक तथा पर्यटकीय सम्भावना


ABC NEWS
३० श्रावण २०८३, शनिबार   १२ : ०५   बजे

नाला, काभ्रे । प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले समृद्ध नालालाई व्यवस्थित रूपमा धार्मिक तथा सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवाज उठ्न थालेको छ। यहाँ रहेका ऐतिहासिक मठमन्दिर, किल्ला, गुम्बा, पुराना बस्ती र प्राकृतिक सौन्दर्यको संरक्षण तथा प्रवर्द्धन गर्न सके स्थानीय अर्थतन्त्रसमेत बलियो बन्न सक्ने स्थानीयको विश्वास छ।

बनेपा नगरपालिका–३ र ४ मा पर्ने नाला पूर्वमा धुलिखेल र पश्चिममा नगरकोटजस्ता चर्चित पर्यटकीय गन्तव्यको बीचमा अवस्थित छ। क्षेत्रफलका हिसाबले सानो भए पनि यहाँ शैव, शाक्त र बौद्ध संस्कृतिको अद्वितीय समन्वय देख्न सकिन्छ।

नालामा उग्रचण्डी नाला भगवती, नालागढी, करुणामय लोकेश्वर, ब्रह्मायणी–ब्रह्मा मन्दिर, चामुण्डामाई तथा गुम्बालगायतका धार्मिक तथा ऐतिहासिक स्थल छन्। धुलिखेल र नगरकोटसँग जोडेर हाइकिङ मार्ग विकास गर्न सके नाला थप आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय बताउँछन्।

यहाँबाट अन्नपूर्ण, मनासलु, गणेश, लाङटाङ, जुगल, रोल्वालिङ, महालङ्गुर र नुम्बुरलगायत हिमशृङ्खला अवलोकन गर्न सकिन्छ। हुस्सु र कुहिरो लागेका बेला नालाबाट देखिने प्राकृतिक दृश्यले पर्यटकलाई बादलमाथि हिँडिरहेको अनुभूति गराउने स्थानीयको भनाइ छ।

नालागढीको ऐतिहासिक महत्व

नालाको अर्को महत्वपूर्ण सम्पदा नालागढी हो। ऐतिहासिक रूपमा भक्तपुरको पूर्वद्वारका रूपमा रहेको नालागढी पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानसँग जोडिएको महत्वपूर्ण किल्ला मानिन्छ।

स्थानीय किंवदन्तीअनुसार गोरखाली सेनालाई रोक्न तत्कालीन नालाका तान्त्रिकहरूले विभिन्न तान्त्रिक विधि प्रयोग गरेका थिए। मौरी र अरिङ्गाल प्रयोग गर्नेदेखि मानवरहित सहर बनाउनेसम्मका रणनीति अपनाइएको कथन पाइन्छ।

नालागढीको इतिहासले तत्कालीन सैन्य रणनीति, भौगोलिक अवस्थिति र उपत्यकाको सुरक्षा व्यवस्थाबारे अध्ययन गर्नसमेत महत्वपूर्ण आधार प्रदान गर्छ। पछिल्लो समय यो क्षेत्र घुमघाम तथा सामाजिक सञ्जालका लागि सामग्री निर्माण गर्ने युवामाझ समेत लोकप्रिय बन्दै गएको छ।

हिन्दु–बौद्ध संस्कृतिको संगम

नालाको धार्मिक पहिचानमा ब्रह्मायणी मन्दिरको विशेष महत्व छ। यहाँ ब्रह्माका विभिन्न स्वरूपसँग जोडिएका धार्मिक मान्यता पाइन्छन्। हिन्दु र बौद्ध दुवै परम्पराले आफ्नै ढंगले यहाँका धार्मिक प्रतीक तथा कथालाई व्याख्या गर्दै आएका छन्।

त्यस्तै, करुणामय लोकेश्वर मन्दिर नालाको अर्को महत्वपूर्ण धार्मिक सम्पदा हो। नेपालका प्रसिद्ध लोकेश्वरमध्ये एक मानिने यस देवतालाई बौद्ध धर्मावलम्बीले पद्मपाणि वा सृष्टिकान्त लोकेश्वरका रूपमा तथा हिन्दु धर्मावलम्बीले नारायण वा शिवका रूपमा श्रद्धा गर्ने परम्परा छ।

मन्दिरका कलात्मक काठका टुँडाल, सुनौलो गजुर तथा प्राचीन मूर्तिले यसको ऐतिहासिक र कलात्मक महत्व झल्काउँछन्। प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमामा यहाँ ठूलो जात्रा लाग्ने गर्छ।

गुम्बा र शक्तिपीठ

नालाको पूर्वी भन्ज्याङमा रहेको धक्पो शेड्रब लिङ्ग गुम्बा तिब्बती बौद्ध परम्पराको महत्वपूर्ण केन्द्र हो। प्राकृतिक वातावरणसँगै तिब्बती वास्तुकला र बौद्ध संस्कृतिका कारण गुम्बा धार्मिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ।

त्यस्तै, नालामा नेपालमण्डलका प्रमुख शक्तिपीठमध्ये एक मानिने उग्रचण्डी भगवती मन्दिर पनि छ। विभिन्न धार्मिक परम्पराका यी स्थललाई एउटै पर्यटकीय मार्गमा जोड्न सके नालाको पर्यटन सम्भावना अझ विस्तार हुन सक्ने देखिन्छ।

स्थानीय परिकार र पर्यटनको सम्भावना

नालामा नेवार समुदायका परम्परागत परिकार पाइने खाजाघरसमेत छन्। स्थानीय कला, संस्कृति, मौलिक परिकार र पुराना शैलीका घरलाई संरक्षण गर्दै पर्यटकमैत्री पूर्वाधार विकास गर्न सके नाला धार्मिक पर्यटनसँगै सांस्कृतिक तथा खानाका लागि पनि आकर्षक गन्तव्य बन्न सक्छ।

स्थानीयवासीका अनुसार मठमन्दिर र ऐतिहासिक सम्पदाको संरक्षणसँगै सडक, पदमार्ग, सूचना केन्द्र, शौचालय तथा पर्यटक बस्ने सुविधाको विकास आवश्यक छ।

नालालाई धुलिखेल–नगरकोटसँग जोडेर धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको एकीकृत गन्तव्यका रूपमा विकास गर्न सके स्थानीय रोजगारी सिर्जना हुनुका साथै नालाको ऐतिहासिक पहिचान पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सकिने देखिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको विधान संशोधनका लागि रमेश लेखकले पेस गरे ४३ बुँदे अवधारणा

चुनावपछि पहिलो पटक गृहजिल्ला झापा पुगे ओली, इलाममा पनि कार्यक्रम

सम्बन्धित

अर्थतन्त्र चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्छ : सीएनआई अध्यक्ष पाण्डे

बैंकिङ कसुरमा १४ लाख जरिवाना ठहर भएका फरार व्यक्ति पक्राउ

एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश

चन्द्रपुरमा तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालनमा

काठमाडौंका पाँच स्थानबाट आज ग्यास वितरण हुँदै

चितवनको क्लबमा दुई समूहबीच झडप, चारजना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu