काठमाडौँ । हेटौँडा–५, सानो पोखराका अभियन्ता विशालराज महत ‘दोस्रो आरोही व्यक्तित्व सम्मान–२०८३’बाट सम्मानित भएका छन्। आरोही बिट्सले महतलाई सम्मान गरेको हो।
महतले हेटौँडामा अन्याय र भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दै नागरिकका सवालमा खबरदारी गर्दै आएका छन्। उनी असहाय तथा पीडितका पक्षमा समेत सक्रिय छन्।
लामो समयदेखि आम नागरिकका समस्या सम्बन्धित निकायसम्म पुर्याउँदै आएका महत शिक्षा, स्वास्थ्य, मानवीय सहयोग तथा सामाजिक सेवाका क्षेत्रमा पनि सक्रिय छन्। ‘सेवा, सहयोग र आवाज’ अभियानमार्फत आर्थिक अभावका कारण उपचारबाट वञ्चित व्यक्तिको उपचारका लागि पहल गर्नुका साथै विपन्न तथा असहाय परिवारलाई सहयोग जुटाउँदै आएका छन्।
शैक्षिक तथा मानवीय सहयोग
महतले हेटौँडा–१८ स्थित वैदिक संस्कृत गुरुकुलका विद्यार्थीलाई शैक्षिक सामग्री तथा खाद्यान्न सहयोग गरेका छन्।
हेटौँडा अस्पतालसँग सम्बन्धित सार्वजनिक सरोकारका विषयमा आवाज उठाएका कारण उनी हिरासतमा समेत परेका थिए।
वातावरण र नागरिक अधिकारका क्षेत्रमा अभियान
महतले पछिल्लो समय औद्योगिक प्रदूषण, वातावरणीय समस्या तथा नागरिक अधिकारका विषयमा अभियान सञ्चालन गर्दै आएका छन्। सामाजिक न्याय, सुशासन र नागरिकका समस्याप्रति निरन्तर खबरदारी गर्दै आएको योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको हो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्