काठमाडौँ, साउन ३० गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपाल फर्केर ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ।
चीनको ग्वाङझाउमा शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि र आयात प्रतिस्थापनका क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभएको हो।
“प्रवासी साथीहरू, अब स्वदेश फर्केर ढुक्कसँग लगानी गर्नुहोस्।”
सरकारले लगानीको अनुकूल वातावरण निर्माण, स्वदेशमै मर्यादित रोजगारी सिर्जना तथा कृत्रिम बौद्धिकता (एआई) र सूचना प्रविधि क्षेत्रलाई प्रोत्साहन गर्ने गरी नीतिगत सुधार अघि बढाइरहेको उहाँले बताउनुभयो।
२७ कानुन संशोधन गरी लगानी वातावरण सुधार
सरकारले चालु बजेटमार्फत २७ वटा ऐन तथा कानुन संशोधन गरी लगानीमैत्री वातावरण निर्माण गरेको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो।
आर्थिक राजकाजलाई नयाँ दिशा दिइएको दाबी गर्दै उहाँले कर प्रणालीमा समेत व्यापक सुधार गरिएको बताउनुभयो।
उहाँले सुधारको परिणाम चरणबद्ध रूपमा देखिने दाबी गर्नुभयो।
“पहिलो वर्ष सुधारको सुरुआत गरेका छौँ, दोस्रो वर्ष अझ फराकिलो सुधार हुनेछ। तेस्रो र चौथो वर्षमा सुधारको नतिजा देखिनेछ भने चौथो र पाँचौँ वर्षमा त्यसको प्रतिफल जनताले पाउनेछन्।”
एनआरएनको पुँजी र ज्ञान भित्र्याउने नीति
अर्थमन्त्री वाग्लेले सरकारको आर्थिक सुधारका लक्ष्य हासिल गर्न आन्तरिक तथा गैरआवासीय नेपालीको पुँजी र ज्ञान महत्वपूर्ण रहेको बताउनुभयो।
सरकारले गैरआवासीय नेपालीको ज्ञान र पुँजी नेपाल भित्र्याउने नीति लिएको उल्लेख गर्दै उहाँले धितोपत्र बाँडफाँड तथा निष्कासनसम्बन्धी नियमावली संशोधन गरी नेपाल सरकार र एनआरएन इन्भेस्टमेन्ट फन्डबाट जारी हुने सेयरको हिस्सा ८५ प्रतिशत पुर्याइएको जानकारी दिनुभयो।
रुग्ण उद्योगमा पनि लगानी गर्न आग्रह
सरकारले बन्द तथा रुग्ण उद्योग पुनः सञ्चालन गर्ने नीति लिएको पनि अर्थमन्त्री वाग्लेले बताउनुभयो।
ज्ञान, सीप र पुँजी भएका गैरआवासीय नेपालीले यस्ता उद्योग पुनः सञ्चालनमा समेत सहभागी हुन सक्ने उहाँको भनाइ थियो। सरकारले उत्पादन, रोजगारी र लगानी विस्तारलाई प्राथमिकतामा राखेर आर्थिक सुधार अघि बढाइरहेको उहाँले दाबी गर्नुभयो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्