काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले नेता शेरबहादुर देउवाको नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न गरी नयाँ पुस्तालाई पार्टी नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ।
संस्थापनइतर पक्षले राष्ट्रिय भेलामा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमार्फत यस्तो प्रतिबद्धता जनाएको हो। प्रतिवेदनमा १५औँ महाधिवेशन १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आयोजना गरिने उल्लेख छ।
नेतृत्व पुस्तान्तरण र हस्तान्तरणप्रति आफूहरूको कुनै विमति नरहेको नेता विमलेन्द्र निधिले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
“पार्टी र देशको नेतृत्व हस्तान्तरण गर्नु हाम्रो उद्देश्य र प्रतिबद्धता रहेको छ। यसका लागि नयाँ पुस्तालाई वैचारिक स्पष्टता र समर्पण भावले तयार रहन हामी आग्रह गर्दछौँ।”
पार्टी एकतामा जोड
संस्थापनइतर पक्षको राष्ट्रिय भेला पार्टीको बृहत् एकताको पक्षमा रहेको प्रतिवेदनमा उल्लेख छ।
कांग्रेसलाई एकताबद्ध बनाउँदै नागरिकको भरपर्दो पार्टीका रूपमा पुनःस्थापित गर्ने संकल्प भेलाले गरेको प्रतिवेदनमा जनाइएको छ।
कांग्रेसको संघर्ष, त्याग, तपस्या, बलिदान र योगदानको इतिहासले निर्देशित गरेको गन्तव्यबाट पार्टी विचलित हुन नहुनेमा पनि प्रतिवेदनले जोड दिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्