काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पराजित गरेपछि रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलमार्गलाई अमेरिकाको ‘क्षेत्र’ घोषणा गरिने बताएका छन्। शुक्रबार न्युयोर्कमा रिपब्लिकन पार्टीको र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन्।
अमेरिका र इरानबीच करिब ६ महिनादेखि जारी संघर्ष अन्त्यका लागि सम्झौताको प्रयास भइरहेका बेला ट्रम्पको पछिल्लो अभिव्यक्ति सार्वजनिक भएको हो। उनको भनाइप्रति इरानले कडा प्रतिक्रिया जनाएको छ।
इरानका सहायक विदेशमन्त्री काजेम गरीबाबादीले ‘होर्मुज इरानको थियो, इरानकै छ र इरानकै रहनेछ’ भन्दै कुनै सामाजिक सञ्जाल पोस्ट वा चुनावी भाषणका आधारमा उक्त जलमार्ग कब्जा गर्न नसकिने बताएका छन्। इरान धम्कीबाट नडराउने र कुनै शक्तिका अगाडि नझुक्ने उनको भनाइ छ।
पेट्रोलको मूल्य बढेको ट्रम्पको दाबी
ट्रम्पले इरानलाई ‘दुष्ट सोचले भरिएको देश’को संज्ञा दिँदै युद्ध जारी रहेसम्म अमेरिकी जनताले महँगो पेट्रोलका लागि तयार रहनुपर्ने बताएका छन्।
इरानलाई परमाणु हतियार बनाउनबाट रोक्न अमेरिकी जनताले पेट्रोलका लागि केही बढी मूल्य तिर्न तयार हुनुपर्ने उनको भनाइ छ। शुक्रबार अमेरिकामा पेट्रोलको औसत मूल्य ४.०८ डलर प्रतिग्यालन पुगेको थियो। एक वर्षअघि यो मूल्य ३.१६ डलर प्रतिग्यालन रहेको बताइएको छ।
होर्मुजमा नियन्त्रणको दाबी
ट्रम्पले यसअघि पनि होर्मुज स्ट्रेटमाथि अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबी गर्दै आएका छन्। उनले सामाजिक सञ्जालमा अमेरिकी नौसैनिक नाकाबन्दीलाई ‘स्टिलको पर्खाल’को संज्ञा दिँदै इरानसँग त्यसको सामना गर्ने कुनै उपाय नरहेको बताएका थिए।
उनले इरानको सैन्य संरचना पनि कमजोर भइसकेको दाबी गरेका छन्। तर ट्रम्पको पछिल्लो अभिव्यक्तिपछि इरानले होर्मुज जलमार्ग अझै बन्द रहेको र आफ्ना सर्त पूरा नभएसम्म पुनः नखोलिने स्पष्ट पारेको छ।
इरानका सर्त
होर्मुज जलमार्ग खोल्न इरानले अमेरिकासामु विभिन्न सर्त अघि सारेको छ। इरानको सुप्रिम नेसनल सेक्युरिटी काउन्सिलका सचिव मोहम्मद बागेर जोल्घदारका अनुसार अमेरिकाले युद्ध स्थायी रूपमा अन्त्य गर्नुपर्ने, इरानमाथिको समुद्री नाकाबन्दी हटाउनुपर्ने र क्षेत्रबाट अमेरिकी सेना फिर्ता गर्नुपर्ने माग गरिएको छ।
त्यसैगरी इरानमाथिका आर्थिक प्रतिबन्ध हटाउनुपर्ने, विदेशमा रोकिएका इरानी सम्पत्ति फिर्ता गर्नुपर्ने, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने तथा इरानका सहयोगी समूहविरुद्ध सैन्य कारबाही बन्द गर्नुपर्ने सर्त राखिएको छ।
तेल ढुवानी प्रभावित
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि होर्मुज स्ट्रेट हुँदै हुने तेल ढुवानी प्रभावित भएको छ।
समुद्री बारुदी सुरुङ, मिसाइल तथा ड्रोन आक्रमणको जोखिम, अमेरिका र इरानबीचको नाकाबन्दी तथा बढ्दो बिमा लागतका कारण उक्त मार्गबाट दैनिक हुने कच्चा तेलको ढुवानी २ करोड ब्यारेलबाट घटेर करिब ३७ लाख ब्यारेलमा सीमित भएको बताइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्