काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘पूर्ण रूपमा पराजित’ गरेपछि स्ट्रेट अफ होर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने बताएका छन्। उनले युद्धपछि इरानको प्रभावमा रहेको भनिएको यो महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमाथि अमेरिकाको नियन्त्रण रहेको दाबीसमेत गरेका छन्। इरानले भने ट्रम्पको दाबी अस्वीकार गरेको छ।
न्युयोर्क राज्यको एक प्रहरी एकेडेमीमा आयोजित राजनीतिक सभालाई सम्बोधन गर्दै ट्रम्पले आफूले छिट्टै स्ट्रेट अफ होर्मुजलाई संयुक्त राज्य अमेरिकाको भूभाग घोषणा गर्ने बताएका हुन्। उनले इरानलाई पूर्ण रूपमा पराजित गरिसकेको दाबी पनि गरे।
वाल स्ट्रिट जर्नलका अनुसार, ट्रम्पको उक्त अभिव्यक्तिपछि ह्वाइट हाउसका एक अधिकारीले उनले उक्त कुरा ठट्टाका रूपमा भनेको स्पष्ट पारेका छन्।
इरानको जवाफ
इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले शनिबार सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पको भनाइको जवाफ दिएका छन्।
उनले स्ट्रेट अफ होर्मुज इरानको रहेको, अहिले पनि इरानकै रहेको र भविष्यमा पनि इरानकै रहने बताएका छन्। साथै, उक्त जलडमरुमध्य बन्द वा खुला गर्ने निर्णय इरानले मात्र गर्ने उनको दाबी छ।
अमेरिका–इरान तनाव कायमै
ट्रम्पले इजरायलसँग मिलेर फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि अमेरिका र इरानबीच तनाव थप चुलिएको छ। त्यसयता इरानले स्ट्रेट अफ होर्मुजको ठूलो हिस्सामा आफ्नो नियन्त्रण रहेको दाबी गर्दै आएको छ।
विश्वकै महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये एक मानिने स्ट्रेट अफ होर्मुजलाई लिएर दुई देशबीच विवाद जारी छ। इरानले अधिकांश नागरिक पानीजहाजको आवागमनमा रोक लगाएको दाबी गरिएको छ भने अमेरिकी नौसेनाले इरानमाथि दबाब बढाउन जलमार्गमा नाकाबन्दी गरेको बताइएको छ।
ट्रम्पले सभामा समर्थक र प्रहरीको भीडलाई सम्बोधन गर्दै अमेरिकाले नाकाबन्दी गरिरहेको र अमेरिकी इच्छाविपरीत कुनै पनि जहाजलाई उक्त जलमार्गबाट जान नदिइने दाबी गरेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्