काठमाडौं । भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशको दिबांग उपत्यका जिल्लामा अचानक आएको बाढीमा परी भारतीय सेनाका पाँच जवान बेपत्ता भएका छन्। भारी वर्षापछि शुक्रबार साँझ पासु पानी क्षेत्रमा आएको बाढीले सेनाको क्याम्पका दुईवटा अस्थायी संरचना बगाउँदा सात जना सैनिक बाढीमा परेका थिए। दुई जनाको उद्धार गरिएको छ भने पाँच जना अझै बेपत्ता छन्।
अधिकारीहरूका अनुसार घटना शुक्रबार साँझ करिब ४ः३० बजे भएको हो। प्रभावित क्षेत्र अन्तर्राष्ट्रिय सीमासँग नजिक रहेको बताइएको छ। बेपत्ता सैनिकहरू पाँचौँ ग्रेनेडियर्सका हवल्दार उपेन्द्र तथा कुन्दन, विनोद, आदित्य र समुण्डा रहेका छन्।
खोज तथा उद्धार तीव्र
बेपत्ता सैनिकको खोजीका लागि भारतीय सेना, राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ), राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ), इन्डो–तिब्बती सीमा प्रहरी (आईटीबीपी), अरुणाचल प्रदेश प्रहरी तथा स्थानीय स्वयंसेवक परिचालन भएका छन्। पाँचौँ ग्रेनेडियर्सका दुईवटा खोज तथा उद्धार टोली पनि घटनास्थलमा खटिएका छन्।
अत्यधिक वर्षा र पहाडी भूभागका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन्। घटनास्थलमा क्षतिको विस्तृत विवरण संकलन गर्ने तथा बेपत्ता सैनिकको खोजीलाई प्राथमिकता दिइएको छ।
अरुणाचल प्रदेशमा शुक्रबार भारी वर्षाका कारण दिबांग उपत्यकाबाहेक अपर सुबानसिरी जिल्लामा पनि पहिरो गएको थियो। सडक निर्माणस्थलमा गएको पहिरोमा परी चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्