काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू हिन्दु भएको स्पष्ट पारेका छन् ।
आइतबार काठमाडौंको मिराकल पार्टी भेन्युमा आयोजित कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा बोल्दै देउवाले आफ्नो विवाह र व्रतबन्ध हिन्दु परम्पराअनुसार भएको बताए ।
भेलामा धर्मका विषयमा स्पष्ट पार्न आग्रह गरिएपछि देउवाले आफू मन्दिर जाने र पशुपतिनाथको पूजा गर्ने गरेको उल्लेख गर्दै भने, ‘मेरो व्रतबन्ध र विवाह पनि हिन्दु परम्पराअनुसार भएको हो । म मन्दिर जान्छु, पशुपतिनाथको पूजा गर्छु । त्यसैले म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ ।’
उनले आफूले हिन्दु धर्म मान्छु भन्न पाउनुपर्ने बताउँदै अन्य धर्मको विरोध नगरेको स्पष्ट पारे । ‘म अरू धर्म विरोधी होइन । मैले आफूलाई हिन्दु हुँ भन्न पाउनुपर्यो नि,’ उनले भने ।
नेपाल धर्मनिरपेक्ष मुलुक रहोस् भन्ने आफ्नो चाहना भए पनि यस विषयमा अन्तिम निर्णय जनताले गर्ने देउवाको भनाइ थियो ।
प्रजातन्त्रका पक्षमा अडान लिएको स्मरण
सम्बोधनका क्रममा देउवाले आफूले प्रजातन्त्रविरुद्ध जान नसक्ने अडान लिँदा तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा जेल पर्नुपरेको पनि स्मरण गरे ।
तत्कालीन सरकारको हुकुम नमानेका कारण आफू कारागार पुगेको उल्लेख गर्दै उनले प्रजातन्त्रको खिलाफमा आफू कहिल्यै जान नसक्ने बताएका थिए । पूर्वराजा ज्ञानेन्द्रसँग जोडिएका विभिन्न विषयमा अहिले चर्चा भइरहेको भन्दै देउवाले आफ्नो राजनीतिक अडानबारे समेत प्रस्ट पारे ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्