पोखरा । गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्था, पोखराको अध्यक्षमा एकराज नेपाली चयन भएका छन् । शनिबार सम्पन्न संस्थाको छैटौँ अधिवेशनले नेपालीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा प्रेम तिमिल्सीना, सचिवमा ईश्वरी नेपाली, सहसचिवमा हरि बस्नेत र कोषाध्यक्षमा सुनिल बस्नेत चयन भएका छन् ।
सदस्यमा सुशान्त बस्नेत, अमर चर्मकार, नानी परियार र मनकला नेपाली चयन भएका छन् । बाँकी चार सदस्य कार्यसमितिले मनोनित गर्ने अध्यक्ष नेपालीले जानकारी दिए ।
सम्पदा संरक्षणमा जोड
अधिवेशन उद्घाटन गर्दै पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले पोखरा प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न रहेको भन्दै तिनको संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।
उनले महेन्द्र गुफाको विकासका लागि प्रदेश सरकारले ठूलो लगानी गरेको उल्लेख गर्दै निर्माण भएका संरचना सञ्चालनका लागि स्थानीय संघसंस्थाबीच समन्वय आवश्यक रहेको बताए ।
गण्डकीका जनस्वास्थ्य प्रमुख रमेशराज अधिकारीले क्षेत्रका सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा संस्था सक्रिय हुनुपर्नेमा जोड दिए ।
संस्थाका संस्थापक अध्यक्ष गोविन्दबहादुर बस्नेतले माथिल्लो पोखरा क्षेत्रमा रहेका सम्पदाको संरक्षण र विकास गर्ने उद्देश्यले संस्था स्थापना भएको बताए । उनले यस क्षेत्रको पर्यटन विकासमा सरकारी तथा निजी क्षेत्रको पर्याप्त ध्यान पुग्न नसकेको गुनासो गरे ।
कार्यक्रममा स्वतःस्फूर्त रूपमा सरसफाइ अभियान सञ्चालन गर्दै आएका ज्येष्ठ नागरिक आईतसिंह तामाङलाई सम्मान गरिएको थियो ।
दुई वर्षदेखि सञ्चालनमा आएनन् संरचना
गण्डकी प्रदेश सरकारले करिब ८ करोड रुपैयाँ लगानीमा महेन्द्र गुफा क्षेत्रमा विभिन्न संरचना निर्माण गरेको छ । निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि ती संरचना सञ्चालनमा आउन नसकेको भन्दै कार्यक्रममा सहभागीले असन्तुष्टि जनाएका छन् ।
वडा सदस्य मञ्जु बस्याल, नमुना क्लबका अध्यक्ष मिनबहादुर गुरुङ, मानव अधिकारका लागि एकल महिला समूहकी अध्यक्ष दुर्गा केसी थापालगायतले निर्माण भएका संरचना तत्काल सञ्चालन र उचित व्यवस्थापन गर्न माग गरे ।
संरक्षणको अभावमा प्रदेश सरकारको ठूलो लगानी खेर जाने र निर्माण भएका संरचना जीर्ण बन्ने जोखिम रहेको उनीहरूको भनाइ थियो ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्