कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन अभियान’अन्तर्गत विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी गत आर्थिक वर्षमा ५ करोड ५० लाख रुपैयाँ अनुदान वितरण गरिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार कार्यक्रमबाट जिल्लाका ३७३ किसान लाभान्वित भएका छन् । स्थानीयस्तरमै व्यवसाय सञ्चालन गर्न सहज बनाउने, किसानको आयआर्जन बढाउने र उत्पादनमा बढीभन्दा बढी किसानलाई जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख चन्द्रकान्त पन्तले जानकारी दिए ।
कार्यक्रमअन्तर्गत बाख्रा, भैँसी, बङ्गुर तथा मत्स्यपालनका फार्म, समूह र सहकारीलाई अनुदान दिइएको छ ।
कुन स्थानीय तहमा कति अनुदान?
चुरे गाउँपालिकाका ६७ बाख्रा फार्मलाई ४० लाख, मोहन्याल गाउँपालिकाका १० बाख्रा फार्म, तीन समूह र एक सहकारीलाई ४० लाख तथा गौरीगङ्गा नगरपालिकाका ४२ बाख्रा फार्मलाई ८० लाख रुपैयाँ अनुदान दिइएको छ ।
घोडाघोडी नगरपालिकाका चार बङ्गुर फार्मलाई ४० लाख, लम्कीचुहा नगरपालिकाका १३ भैँसी फार्मलाई ५० लाख, टीकापुर नगरपालिकाका सात भैँसी फार्मलाई ५० लाख र जानकी गाउँपालिकाका तीन भैँसी फार्मलाई ४० लाख रुपैयाँ दिइएको छ ।
त्यस्तै, भजनी नगरपालिकाका चार भैँसी फार्मलाई ४० लाख, धनगढी उपमहानगरपालिकाका २२ भैँसी फार्मलाई ५० लाख, बर्दगोरिया गाउँपालिकाका तीन मत्स्य फार्मलाई ४० लाख, जोशीपुर गाउँपालिकाका तीन बाख्रा फार्मलाई ४० लाख तथा कैलारी गाउँपालिकाका दुई बङ्गुर फार्म, दुई समूह र एक सहकारीलाई ४० लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको केन्द्रले जनाएको छ ।
प्रमुख पन्तका अनुसार ‘एक स्थानीय तह दुई उत्पादन’ अभियानअन्तर्गत एउटा कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र अर्को कृषि ज्ञान केन्द्रमार्फत सञ्चालन हुन्छ ।
लक्षित वर्गलाई थप प्रोत्साहन
कार्यालयले एकल महिला, कमैया, सीमान्तकृत समुदाय, अपाङ्गता भएका व्यक्ति तथा विपन्न वर्गलाई लक्षित गरी बाख्रा र बङ्गुरपालनका लागि २१ समूहलाई प्रतिग्रुप १ लाख ७८ हजार रुपैयाँका दरले अनुदान दिएको छ ।
यस्तै, तीनवटा गौशालाको व्यवस्थापनका लागि ९ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइएको छ । हलगोरु तथा राँगा पाल्दै आएका ५५१ किसानलाई प्रतिकिसान २ हजार ७०० रुपैयाँका दरले कुल १४ लाख ८७ हजार रुपैयाँ प्रोत्साहन रकम वितरण गरिएको केन्द्रले जनाएको छ ।
कार्यक्रमले स्थानीयस्तरमा पशुपालन तथा मत्स्यपालन व्यवसाय विस्तार गर्दै उत्पादन वृद्धि र किसानको आयआर्जनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्