काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले नेपाललाई हिन्दू राष्ट्र बनाउने वा नबनाउने विषय नेपाली जनताको हातमा रहेको बताएका छन् । आफू भने धार्मिक स्वतन्त्रताको पक्षमा रहेको उनले स्पष्ट पारेका छन् ।
कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाको समापन समारोहमा बोल्दै देउवाले सनातन हिन्दू राष्ट्रका विषयमा सहभागीबाट आएको आग्रहको जवाफ दिएका हुन् ।
कार्यक्रममा सहभागीले सनातन हिन्दू राष्ट्रको विषयमा बोल्न आग्रह गर्दै देउवालाई चिट पठाएका थिए । जवाफमा देउवाले आफू व्यक्तिगत रूपमा हिन्दू भएको बताउँदै आफ्नो धार्मिक आस्था स्पष्ट पारे पनि नेपाललाई हिन्दू राष्ट्र बनाउने विषयमा प्रत्यक्ष समर्थन जनाएनन् ।
‘म हिन्दू हुँ । मेरो व्रतबन्ध पनि हिन्दूअनुसार भएको हो,’ देउवाले भने, ‘त्यसपछि बिहे पनि मैले गुह्येश्वरीमा हिन्दू रीतिरिवाजअनुसार गरेको हो । त्यसकारण म व्यक्तिगत रूपमा पूरा हिन्दू हुँ । मलाई कसैले हिन्दू होइन भन्न सक्दैन ।’
उनले नेपालमा धार्मिक स्वतन्त्रता कायम हुनुपर्नेमा जोड दिए ।
‘नेपाल के हुने, के नहुने भन्ने कुरा त नेपाली जनताको हातमा छ । तर नेपाली हिन्दूलाई हिन्दू हुन पाउँदैनस् भन्न चाहिँ पाइँदैन,’ उनले भने, ‘म हिन्दू हुँ, हिन्दू हुँ, हिन्दू हुँ ।’
देउवाले आफू पशुपतिनाथ जाने र पूजा गर्ने गरेको बताउँदै आगामी दिनमा पशुपति जाने इच्छासमेत व्यक्त गरे ।
न्यायालयप्रति देउवाको विश्वास
देउवाले नेपाल अहिले अत्यन्तै अप्ठ्यारो अवस्थामा रहेको बताए । आफूलाई विगतदेखि नै न्यायालयले न्याय दिएको उल्लेख गर्दै उनले न्यायालयप्रति विश्वास व्यक्त गरे ।
पञ्चायतकालदेखि नै सर्वोच्च अदालतलगायत न्यायालयले आफू र आफ्नो पार्टीलाई न्याय दिएको उनको भनाइ थियो । राजाले थुन्दा समेत अदालतले त्यसविरुद्ध निर्णय गरेको र आफू पटकपटक जेलबाट छुटेको उनले स्मरण गरे ।
आफूविरुद्धका पछिल्ला विषयमा पनि अदालतले न्याय गरेको भन्दै उनले अदालतको पूर्ण निर्णयको प्रतीक्षामा रहेको बताए ।
विशेष महाधिवेशनप्रति असहमति
देउवाले पार्टीभित्र जबर्जस्ती विशेष महाधिवेशन गराउने प्रयास आफूलाई स्वीकार्य नभएको बताए । आम सहमतिमा विशेष महाधिवेशन गर्नुपर्ने आफ्नो धारणा रहेको उनले स्पष्ट पारे ।
‘जबर्जस्ती विशेष महाधिवेशन गरेर अन्यायपूर्ण तरिकाले धेरै साथीलाई बाहिर राखियो,’ उनले भने, ‘त्यसको खिलाफमा हामीले अदालतमा गयौँ । अदालतले पनि यो अन्याय भयो भनेको छ ।’
अदालतको पूर्ण पाठ आइनसकेकाले अहिले त्यसबारे थप टिप्पणी नगर्ने बताउँदै देउवाले अदालतको निर्णयलाई आफूले पूर्ण रूपमा स्वीकार गर्ने धारणा राखे।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्